काठमाडौं- अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसको अवसरमा काठमाडौंमा आगामी चैत १६ र १७ गते (मार्च ३०–३१) 'जिरो वेस्ट एक्सिबिशन २०२६' आयोजना हुने भएको छ। रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान र यसअन्तर्गतका ३५ वटा रोटरी क्लबहरू सहित रोटर्याक्ट, इन्टर्याक्ट र ईएसआरएजीको संयुक्त आयोजनामा नक्सालस्थित नेपाल कला परिषद् (NAFA) मा यो विशेष प्रदर्शनी सञ्चालन हुन लागेको हो।
"परिवर्तन आफैं बनौँ—फोहोर घटाऔँ, पुनःप्रयोग गरौँ र पुनर्चक्रण अपनाऔँ" भन्ने मूल नाराका साथ आयोजना हुने यस कार्यक्रमलाई शहरी विकास मन्त्रालय, संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपाल र ईसीसीए (ECCA) जस्ता संस्थाहरूले समर्थन गरेका छन्। बिहान ११ बजेदेखि सुरु हुने यस प्रदर्शनीमा फोहोर व्यवस्थापनका नवीन प्रविधि, रिसाइकल र अपसाइकलमा आधारित ४० देखि ५० वटा उद्यमका स्टलहरू मुख्य आकर्षणको रूपमा रहनेछन्, जहाँ सर्वसाधारणका लागि प्रवेश निःशुल्क गरिएको छ।
प्रदर्शनीको दोस्रो दिन "बियोन्ड द बिनः जिरो वेस्ट भविष्यका लागि प्रणाली पुनःडिजाइन" शीर्षकमा नीति निर्माता र विशेषज्ञहरूबीच बृहत् प्यानल छलफल हुनेछ, जसमा सहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेल, ब्लु वेस्ट टु भ्यालुका नवीन विकास महर्जन र मिस नेपाल २०२३ श्रीच्छा प्रधान लगायतको सहभागिता रहनेछ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का वातावरण समिति संयोजक रोटेरियन योगेश शाक्यका अनुसार यस प्रदर्शनीले हरित उद्यमलाई बजारसँग जोड्ने र आम नागरिकलाई दिगो जीवनशैली अपनाउन प्रेरित गर्ने लक्ष्य राखेको छ। अनियन्त्रित फोहोर उत्पादन र प्लास्टिक प्रदूषण जस्ता वातावरणीय चुनौतीलाई सम्बोधन गर्न सामूहिक पहलको आवश्यकता औंल्याउँदै आयोजकले विद्यार्थी, उद्यमी र सरोकारवाला सबैलाई यस अभियानमा सहभागी हुन आह्वान गरेको छ। यस कार्यक्रमले फोहोरलाई समस्याका रूपमा मात्र नहेरी यसलाई मूल्यवान स्रोतमा रूपान्तरण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।
प्रतिक्रिया