मन्त्रिपरिषद्को 'प्राइभेट सेक्टर प्रोटेक्सन प्लान' निजी क्षेत्रका लागि ठूलो उपलब्धि: अध्यक्ष ढकाल

मंगलबार, १७ चैत्र २०८२, १४ : ३४

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि सरकारले लिएको पछिल्लो निर्णयलाई ऐतिहासिक उपलब्धिको रूपमा चित्रण गरेका छन्। मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको १३औँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले मन्त्रिपरिषद्को बैठकले ‘प्राइभेट सेक्टर प्रोटेक्सन एण्ड प्रमोशन प्लान’ (निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन योजना) अगाडि बढाउने निर्णय गरेको जानकारी दिए।

अध्यक्ष ढकालका अनुसार यस योजनाले निजी क्षेत्रको सुरक्षादेखि आयोजना कार्यान्वयनमा देखिएका नीतिगत र व्यावहारिक गाँठो फुकाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। विशेष गरी साना प्राविधिक समस्याका कारण वर्षौँदेखि रोकिएका परियोजनाहरू सुचारु गर्न र निर्माण व्यवसायीले विनाकारण खेप्नुपरेको आरोपको अन्त्य गर्न यो कदम प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे। सरकारको पहिलो क्याबिनेटबाटै यस्तो योजना ल्याइनुले निजी क्षेत्रका हरेक समस्या समाधान हुने र यसले व्यवसायीमा नयाँ उत्साह थप्ने उनले बताए।

सम्बोधनका क्रममा अध्यक्ष ढकालले विगतका राजनीतिक आन्दोलनहरूमा निजी क्षेत्र, व्यावसायिक प्रतिष्ठान र उद्यमीहरू नै बारम्बार लक्षित हुने गरेको तीतो अनुभव सुनाए। वि.सं. २०४६ सालपछिका विभिन्न आन्दोलनहरूमा व्यवसायीहरू असुरक्षित महसुस गर्ने वातावरण बनेको उल्लेख गर्दै उनले यस्तो प्रवृत्ति अन्त्यका लागि राज्यबाट स्पष्ट सन्देश र सुरक्षाको ग्यारेन्टी आवश्यक रहेकोमा जोड दिए।

निजी क्षेत्र देशको मेरुदण्ड रहेको चर्चा गर्दै ढकालले मुलुकको कूल राजस्वमा करिब ८० प्रतिशत योगदान गर्ने र रोजगारी सिर्जनामा अग्रणी भूमिका खेल्ने क्षेत्रलाई नजरअन्दाज गर्न नहुने बताए। पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि निजी क्षेत्र अपरिहार्य रहेको भन्दै उनले निजी क्षेत्रविनाको आर्थिक जीवन र विकासको कल्पना गर्न नसकिने स्पष्ट पारे।

 
 
मंगलबार, १७ चैत्र २०८२, १४ : ३४

प्रतिक्रिया