काठमाडौं- विवादास्पद व्यवसायी दिपक भट्ट सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएपछि राजनीतिक तथा व्यावसायिक वृत्तमा हलचल मच्चिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को पत्रका आधारमा अध्यागमन विभाग ले भट्टको राहदानी रोक्का गरेको छ। यससँगै उनी अध्यागमनको कालोसूचीमा परेका छन् भने वैदेशिक यात्रामा पनि प्रतिबन्ध लागेको छ। अब विदेश जानु परेमा सम्बन्धित अनुसन्धान निकाय वा नेपाल सरकारको पूर्वस्वीकृति आवश्यक पर्नेछ।
भट्टमाथि ठूला ठेक्कापट्टा, सेयर खरिदबिक्री तथा विभिन्न लगानी कारोबारमा सत्ता र शक्तिको आडमा प्रभाव प्रयोग गरेको आरोप लाग्दै आएको छ। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा अनुसन्धान भइरहेको बताइएको छ।
फागुन २१ को निर्वाचनपछि बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएसँगै भट्टविरुद्धको अनुसन्धानले गति पाएको स्रोतहरूको दाबी छ। उनी राजनीतिज्ञ र व्यवसायीहरूसँग निकट सम्बन्ध बनाएर गैरकानुनी ढंगले सेयर लगानी तथा वित्तीय कारोबारमा संलग्न रहेको आरोप पनि लाग्दै आएको छ।
भट्ट इन्फिनिटी होल्डिङ्स का प्रमुख हुन् भने हिमालयन रि–इन्स्योरेन्स लगायत विभिन्न कम्पनीहरूमा सेयर लगानीकर्ता पनि रहेका छन्।
उनीमाथि सार्वजनिक खरिदका ठेक्का, जग्गा कारोबार तथा नागरिकता किर्ते गराउने प्रकरणमा समेत संलग्न रहेको आरोप छ। यसअघि सत्ता र शक्तिको आडमा उनीमाथि अनुसन्धान अघि बढ्न नसकेको आरोप समेत लाग्दै आएको थियो।
व्यापारी कमलकिशोर मालपानी को नक्कली नागरिकतासम्बन्धी मुद्दामा सेटिङ मिलाएको आरोप पनि भट्टमाथि लागेको छ। उक्त प्रकरणमा भट्टको स्वामित्व रहेको हिमालयन एसेस्ट्स कम्पनीले श्रीराम टोबाको मा उल्लेख्य सेयर हात पारेको बताइन्छ।
भट्ट हिमालयन रि–इन्स्योरेन्सलाई लाइसेन्स दिलाउनेदेखि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रियामा समेत विवादमा परेका थिए। साथै नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरण जस्ता निकायमा आफूअनुकूल व्यक्तिलाई नियुक्ति दिलाएको आरोप पनि उनीमाथि लाग्दै आएको छ।
यसैबीच २०८० सालमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि करिब डेढ अर्ब रुपैयाँ बराबरका हतियार खरिदसम्बन्धी ठेक्कामा समेत उनको संलग्नता रहेको चर्चा थियो। उक्त प्रकरणमा अनियमितताको आशंका उठेपछि ठेक्का प्रक्रिया रोकिएको थियो।
प्रतिक्रिया