काठमाडौं - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अबको दुईदेखि तीन सातामा अमेरिका इरान युद्धबाट बाहिरिने बताएका छन्।
इरानी सत्ताले वर्षौँसम्म पनि परमाणुअस्त्र बनाउन नसक्ने सुनिश्चित भएपछि आफूहरू बाहिरिने ट्रम्पले जनाएका हुन्।
राष्ट्रपतिको कार्यालय ओभल अफिसमा संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले इरानले ‘सम्झौताका लागि हारगुहार गरिरहेको’ दाबी गरे। तर अमेरिकी कार्यतालिकानुसार अब त्यो असान्दर्भिक भइसकेको उनको भनाइ छ।
यसअघि इरानी राष्ट्रपति मसूद पेजेश्कियानले युद्ध अन्त्यका लागि तेहरानसँग ‘आवश्यक इच्छाशक्ति रहेको’ बताएका थिए। तर त्यसका लागि आफ्ना शत्रुराष्ट्रहरूले युद्ध फेरि नचर्किने सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।
ट्रम्पले अमेरिकी समयानुसार बुधवार राति राष्ट्रका नाममा गर्ने सम्बोधनमा इरान युद्धबारे महत्त्वपूर्ण जानकारी गराउने ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले बताएकी छन्।
यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबिओले युद्ध अन्य गर्ने विषयमा अमेरिकाले इरानसँग सन्देशहरू आदानप्रदान गरिरहेको बताएका छन्।
‘वार्ता चलिरहेको छ’ फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले भनेका छन्। ‘कुनै बिन्दुमा प्रत्यक्ष वार्ताको सम्भावना पनि छ। हामी त्यसका लागि सधैँ तयार छौँ ।’
तर राष्ट्रपति ट्रम्पले ‘झुटो वार्ता गरेर समय खर्चिन नचाहेको’ उनले बताए। आफूले समय तोकेर भन्न नचाहेको तर ‘अन्तिम बिन्दु देखा परिसकेको ’उनले बताएका छन्।
अमेरिकामै ट्रम्प विरुद्ध व्यापक जनप्रदर्शन भएपछि उनी पछि हटेको पनि विश्लेषण हुन थालेको छ । अमेरिकी नागरिक नै युद्धको बिरोधमा भएपछि उनको यो निर्णय बाहिर आएको बताइन्छ ।
प्रतिक्रिया