दाङ- दाङ जिल्लाको सानी तुलसीपुर उपमहानगरपालिका–१३, अम्बापुर फुलबारीस्थित सानी दाङ उपत्यकामा रहेको श्री मदन बाबा भक्ति केन्द्र, श्रीशम्भु आश्रम परिसरमा दोस्रो श्री महालक्ष्मी कोटीहोम महायज्ञ सुरु भएको छ। चैत १६ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञ धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक दृष्टिले महत्वपूर्ण कार्यक्रमका रूपमा आयोजना गरिएको हो।
महायज्ञ अन्तर्गत महालक्ष्मी साधना, कोटीहोम, तथा सवा दुई करोड दीप प्रज्वलन जस्ता विशेष अनुष्ठानहरू सञ्चालन गरिने आयोजकले जनाएको छ। विशेषगरी सवा दुई करोड दीप प्रज्वलन कार्यक्रमले धार्मिक वातावरणलाई अझै आलोकित बनाउने विश्वास गरिएको छ। यसले विश्व शान्ति, समृद्धि र जनकल्याणको कामना गर्दै आयोजना गरिएको जनाइएको छ।
महायज्ञमा सहभागी हुन दाङसहित आसपासका जिल्ला तथा देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। आश्रम परिसरमा भक्तजनहरूको भीड बढ्दै गएको छ भने व्यवस्थापनलाई थप प्रभावकारी बनाउन स्वयंसेवकहरू परिचालन गरिएको छ।
आयोजक समितिका अनुसार महायज्ञ अवधिभर दैनिक रूपमा वैदिक विधिअनुसार पूजाआजा, हवन, संकीर्तन, धार्मिक प्रवचन तथा भजन–कीर्तनका कार्यक्रमहरू सञ्चालन भएका छन । विद्वान् पण्डित तथा धर्मगुरुहरूको उपस्थितिमा गरिने प्रवचनहरूले धर्म, संस्कृति र नैतिक मूल्यमान्यताबारे जागरण फैलाउने अपेक्षा गरिएको छ।
यस महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धन, स्थानीय अर्थतन्त्रमा चलायमानता र सामाजिक एकताको सन्देश प्रवाह गर्ने विश्वास गरिएको आयोजकको भनाइ छ। स्थानीय बासिन्दाले समेत महायज्ञलाई सफल बनाउन सहयोग गरिरहेका छन्।

प्रतिक्रिया