नयाँ सरकार

नवनियुक्त अर्थमन्त्री वाग्लेको सक्रियता : एक सातामै जगाए निजी क्षेत्र र कर्मचारीमा आशा

आइतबार, २२ चैत्र २०८२, १० : ४३

काठमाडौं- पदभार सम्हालेको पहिलो सातामै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयलाई ‘एक्सन मोड’मा लगेका छन्। प्रशासनिक सुधार, राजश्व व्यवस्थापन र बजेट तयारीलाई केन्द्रमा राख्दै उनले छोटो अवधिमै तीव्र गतिमा काम अघि बढाएका हुन्।

पदबहालीकै दिन तीन महत्वपूर्ण निर्णय गर्दै वाग्लेले आर्थिक सुधारको स्पष्ट दिशा देखाएका थिए। ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार पार्ने, निर्वाचन वाचा कार्यान्वयनका लागि चरणबद्ध कार्ययोजना बनाउने र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसअनुसार कानुनी पुनरावलोकन अघि बढाउने निर्णयले उनको प्राथमिकता स्पष्ट पारेको छ। साथै निजी क्षेत्रलाई संरक्षण र प्रवर्द्धन गर्ने तथा ठूला आयोजना सहजीकरणका लागि कानुनी सुधारको मार्गचित्र तयार पार्ने तयारी पनि सुरु गरिएको छ।

प्रशासनिक तहमा समेत उनले नयाँ अभ्यास थालेका छन्। ३० जना उपसचिवलाई मेरिटका आधारमा पदस्थापन गर्दै उनले ‘परफर्मेन्स–आधारित व्यवस्थापन’को संकेत दिएका छन्। यसलाई कर्मचारीतन्त्रमा पारदर्शिता र प्रतिस्पर्धा बढाउने कदमका रूपमा हेरिएको छ।

मन्त्रालय र मातहतका निकायहरूसँग निरन्तर ब्रिफिङ गर्दै वाग्लेले समग्र आर्थिक अवस्थाको सूक्ष्म अध्ययन गरिरहेका छन्। बजेट कार्यान्वयन, राजश्व संकलन र चुहावट नियन्त्रणका विषयमा उनले विस्तृत जानकारी लिँदै सुधारका सम्भावित उपायहरू खोजिरहेका छन्। यसक्रममा नेपाल बीमा प्राधिकरण लगायत विभिन्न महाशाखा, विभाग र कार्यालयहरूसँग छलफल भइसकेको छ।

राजश्व चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै उनले सुरक्षा निकाय र राजश्व प्रशासनलाई कडाइका साथ परिचालन गर्न निर्देशन दिएका छन्। सेवाग्राहीमैत्री तर प्रभावकारी कर संकलन प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिएका छन्।

निजी क्षेत्रसँगको सहकार्यलाई समेत उनले समानान्तर रूपमा अघि बढाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श सँगको अन्तरक्रियामा उनले लगानीमैत्री वातावरण बनाउने प्रतिबद्धता जनाएका छन्। “सरकार निजी क्षेत्रसँगै अघि बढ्छ,” भन्ने सन्देश दिँदै उनले लगानी विस्तार र रोजगारी सिर्जनामा जोड दिएका छन्।

यसैबीच, आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट तयारी पनि तीव्र पारिएको छ। सहसचिव उत्तर खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन भइसकेको छ भने राजश्व परामर्शसम्बन्धी अन्तरक्रिया कार्यक्रमहरू सुरु गरिएका छन्।

मैदानस्तरमै पुगेर अवस्था बुझ्ने क्रममा वाग्ले वीरगञ्ज पुगेका छन्। त्यहाँ भन्सार कार्यालयहरूको अनुगमन गर्नुका साथै उद्योगी–व्यवसायीसँग छलफल गर्दै आगामी बजेटका लागि सुझाव संकलन गरेका छन्।

छोटो समयमै देखिएको सक्रियता, सुधारमुखी दृष्टिकोण र स्पष्ट प्राथमिकताले अर्थ मन्त्रालयमा नयाँ गति आएको संकेत गरेको छ।

 
आइतबार, २२ चैत्र २०८२, १० : ४३

प्रतिक्रिया