काठमाडौं - भदौ २३ र २४ को आन्दोलनको योजनाकार को थियो भन्ने जान्दाजान्दै पनि एमालेका केही नेताहरुत्यसको दोष पार्टी अध्यक्ष केपी ओलीलाई दिएर पार्टी पुनर्गठन गर्ने बताइरहेका छन् । ओली यतिबेला गौरी बहादुर कार्की आयोगको प्रतिवेदनको कारण हिरासतमा छन् । उनको गिरफ्तारीलाई लिएर जनमत विभाजित छ । नयाँ सरकार बनेको २४ घण्टा नबित्दै ओलीलाई पक्राउ गरिएको थियो । यसलाई मानिसहरु स्वभाविक नभएर राजनीतिक प्रतिशोधको रुपमा हेरिरहेका छन् । तर यही बेला ओलीलाई नेतृत्वबाट हटाउन खोज्नु झनै रहष्यमय छ । चुनाव त ओली र एमाले मात्र हारिरहेका छैनन् । स्वयम उनलाई हटाउन खोज्नेहरु पनि भारी मतान्तरणले हारेका छन् । दोष ओलीको टाउोमा मात्रै किन थोपर्न खोजिदैछ ?
ओलीको बिगत सामान्य छैन र वर्तमान पनि सरकारले सोचे जस्तो छैन । मुलुकलाई पराईले हेप्न खोज्दा सिंह झैं गर्जिने ओली स्वाभिमानका प्रतिक नै हुन । मति सप्रेको दिन नेपाली इतिहासले उनको मूल्याङ्कन निष्पक्ष रुपमा गर्ने नै छ । एमाले एसियाकै राम्रो र व्यवस्थित संगठनात्मक आधार भएको पार्टीको रुपमा चिनिन्छ । अहिले पनि देशव्यापि रुपमा उसको बलियो संगठानात्मक संरचना छ । तर पनि अहिले एमालेमा आन्तरिक कलहले गम्भीर मोड लिएको छ। चार महिनाअघि मात्र तेस्रो कार्यकालका लागि निर्वाचित भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन पदाधिकारी नै सक्रिय भएका छन्।
नेपालको राजनीतिमा दशकौँदेखि वर्चस्व कायम राख्दै आएका ओली यतिबेला आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन मोडमा छन्। एकातिर पार्टीभित्रैबाट उनको राजीनामा मागिएको छ। अर्कोतिर, उनी कानुनी कठघरामा छन्।
अध्यक्ष ओलीको अनुपस्थितिमा उपाध्यक्ष रामबहादुर थापा बादललाई पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता तोकेपछि एमालेभित्रको असन्तुष्टि विस्फोटको सँघारमा पुगेको हो। नेकपा कालदेखि नै माओवादीप्रति अनुदार नेताहरु बादलको नेतृत्वलाई स्विकार्न सकिरहेका छैनन् । बादल तुलनात्मक रुपमा माओवादीमा पनि इमान्दार मानिन्थे । प्रचण्डले आजीवन अध्यक्ष भैरहने मोह देखाएपछि उनी नेकपाबाट माओवादीमा नफर्केका हुन ।
ओलीलाई हटाउन गुटबन्दी गरिरहेका नेताहरु सचिवालयमा बहुमत जुटाएर विधानसम्मत रूपमा ओलीलाई पदबाट हटाउने तयारी गरेका छन्। यसको विधि खोजिरहेका नेताहरू छलफलमा छन्। कतिपय केन्द्रीय तहका नेताले हस्ताक्षर अभियान पनि अघि बढाएका छन्।
यद्यपि, कसरी पुनर्गठन गर्ने भन्ने विषयमा ती नेताहरू छलफलमै छन् ।
केही नेताले सामाजिक सञ्जालमा लेखेर आफ्नो धारणा प्रस्ट पारिरहेका छन् भने कतिपयले विधान अनुसार अघि बढ्नुपर्ने भन्दै त्यसको छलफलमा छन् । उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराईसहितका नेताहरू ओलीले राजीनामा दिनुपर्ने बताइरहेका छन्।
त्यसो त गत भदौ २३ गतेको जेनजी आन्दोलनपछि नै ओलीलाई राजीनामा गर्न नेताहरूले दबाब दिएका थिए।
तत्कालीन प्रधानमन्त्री ओलीको कार्यकालमा भएको उक्त आन्दोलनमा युवाहरूको मृत्यु भएपछि स्थिति नियन्त्रणबाहिर गएको थियो। सोही घटनाको विरोधमा भदौ २४ गते सरकारी निकायहरूमा आगजनी भएपछि दबाबमा परेका ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।
तथापि, प्रधानमन्त्री छोडे पनि ओली पार्टीको नेतृत्व छाडेनन्। बरु पुस २७ गतेका लागि ११ औँ महाधिवेशनको मिति तोकेका थिए। उक्त महाधिवेशनमा ओली समूहले ईश्वर पोखरेल समूहलाई भारी मतले पराजित गरेको थियो। तर, पोखरेल पक्षबाट उपाध्यक्ष विष्ट र उपमहासचिव भट्टराईसहितका पदाधिकारी निर्वाचित भएका थिए।
महाधिवेशन लगत्तै सम्पन्न आम निर्वाचनमा एमालेले बेहोरेको शर्मनाक पराजयले ओलीको नेतृत्वमाथि नेताहरूले थप प्रश्न उठाए। इतिहासकै सबैभन्दा कमजोर चुनावी नतिजा आउनु र स्वयं अध्यक्ष ओली समेत पराजित हुनुले उनको नेतृत्व क्षमता अस्वीकृत भएको असन्तुष्ट नेताहरूको भनाइ थियो।
र, निर्वाचनमा पराजयको जिम्मेवारी लिएर मार्गप्रशस्त गर्नुको सट्टा ओलीले पार्टीमा अझ पकड बढाउन खोज्दा असन्तुष्ट पक्ष थप आक्रोशित बनेको हो।
तर अधिकांश नेता तथा कार्यकर्ताहरु भने संकटकोबेला नेतृत्वको विकल्प खोज्न नहुने बताइरहेका छन् । यतिबेला एकतावद्ध भएर पार्टी र नेतृत्वको रक्षाको पक्षमा उभिनपर्ने उनीहरुको भनाइ छ । त्यसको वकालत सचिव भानुभक्त ढकाल लगायतका नेताहरुले गरेका छन् । अध्यक्ष पक्राउ परेको बेला पार्टीभित्र भाँडभैलो मच्चाउन खोज्नु अमानवीय कृतघ्नताको पराकाष्टा हो भन्ने उनीहरुको बुझाइ छ ।
‘अध्यक्ष पक्राउ परेको बेला तमासा देखाउन मन लाग्नेहरूले गरेको एउटा षडयन्त्रमूलक गतिविधि हो यो,’ सचिव ढकालले भने।
पार्टीलाई कसरी लैजाने भन्ने विषयमा समीक्षा र छलफल हुनुपर्नेमा नेता नै फेर्नेगरी गतिविधि गर्नु गलत भएको उनको भनाइ छ।
‘यो मतिबाट त्यो सम्भव छैन, यसले त पार्टी सुध्रिन नदिने कुरालाई बल पुर्याउँछ,’ उनले भने, ‘अध्यक्ष कस्टडीमा हुनुहुन्छ, यो बेला हस्ताक्षर गर्छौँ भनेर कुनै एमालेको नेता त्यसमा लाग्छ भन्ने हामीले कल्पना पनि गर्न सक्दैनौँ।’
बादललाई पार्टीनीति विपरित बोलेको भन्ने विष्णु पौडेलको दाबीलाइ सांसद गुरु बरालर्ले खण्डन गरेका छन् । बादलले संसदीय दलको बैठकमा सल्लाह गरेरै बोलेको बरालको भनाइ छ । यही विषयमा सचिवालय बैठकमा पनि छलफल भएको र बादलले बोलेको कुरा पार्टीको धारणा भएको सचिव ढकालले बताए। त्यसैले यस मामिलामा विष्णु पौडेल नै पार्टी नीति विपरित चलिरहेको ओली पक्षीय नेताहरुको भनाइ रहेको छ ।
‘बादलले बोल्नु भएको पार्टीको धारणा नै हो,’ सचिवालय बैठकको निष्कर्ष सुनाउँदै उनले भने, ‘अध्यक्षलाई अप्ठ्यारोमा पारेको बेला सहयोग गर्ने मनसायले उहाँले बोल्नुभएको हो। अहिलेको अवस्थामा रक्षात्मक भएको नेता साथीहरूको मनोबल उठाउने कुराका लागि उहाँले राख्नुभएको धारणाले राम्रो गरेको भन्ने छ।’
‘जे विषय हुन्, जस्ताको त्यस्तै छँदैछ। पार्टीको नीति पनि छँदैछ, त्यसमा पार्टी अविचलित छ,’ उनले भने, ‘बरु बादल कमरेडले भन्नुभएको विषय र उहाँले बोलेपछि नेता कमरेडले गर्नुभएको टिप्पणीमाथि बैठकमा छलफल भयो। अबदेखि आफ्ना कुरा बैठकमा राख्ने, पार्टीको निर्णय बाहिर लाने भन्ने समझदारी बनाएका छौँ।’
नाम नबताउने सर्तमा एमालेका एक जना पुराना नेता भन्छन, ‘पार्टीलाई कमजोर बनाउने यस्तै स्वार्थी नेताहरु रहेछन् । जसले आफ्नै अध्यक्ष प्रतिशोधको शिकार भैरहेको बेला पदबाट हटाउन प्रपञ्च गरिरहेका छन् ।’
प्रतिक्रिया