काठमाडौं- इन्धनको मूल्यमा आएको तीव्र वृद्धिले सर्वसाधारणलाई थप मार पर्ने भएको छ । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गर्ने निर्णय गर्दै नयाँ दर लागू गरेको हो ।
नयाँ व्यवस्थाअनुसार यात्रुवाहक सवारी साधनमा करिब १६.७१ प्रतिशतसम्म भाडा बढाइएको छ । त्यस्तै मालवाहक सवारीतर्फ पहाडी क्षेत्रमा २१.६८ प्रतिशत र तराई क्षेत्रमा १५.७५ प्रतिशतसम्म वृद्धि गरिएको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बढ्दो तनाव, विशेषगरी खाडी क्षेत्रमा भएको द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य आकासिँदै गएको छ । यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखिएको छ, जहाँ पेट्रोल र डिजेल दुवैको मूल्य उल्लेख्य रूपमा बढेको छ ।
यातायात व्यवसायीहरूले लामो समयदेखि इन्धन मूल्य वृद्धि अनुसार भाडा समायोजन गर्न माग गर्दै आएका थिए । सोही सन्दर्भमा सरकारले नयाँ भाडा दर लागू गरेको हो ।
नयाँ निर्णयसँगै दैनिक आवतजावत गर्ने यात्रु तथा सामान ढुवानीमा थप आर्थिक भार पर्ने देखिएको छ ।
प्रतिक्रिया