शीर्ष नेतामाथि अनुसन्धान

सम्पत्ति शुद्धीकरणमा चोखिन खोजेका प्रचण्डलाई छोरी गंगाकै सम्पत्ति भारी पर्दै

विहीबार, २६ चैत्र २०८२, १२ : ३६

काठमाडौं– करिब दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्वमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको मन्त्रिमण्डलले गरेको काम कारबाही एकपछि अर्को गरी चर्चामा रहेको छ । गत भाद्र २३ र २४ को जेनजी आन्दोलनको मुख्य जडको रुपमा रहेको व्याप्त भ्रष्ट्राचार र अकुत सम्पत्ति आर्जन गरेकाहरुको सम्पत्ति शुद्धीकरण गर्नुपर्ने मागलाई वर्तमान सकारले प्राथमिकतामा राख्दै देशका शीर्ष तीन नेतामाथि नै अनुसन्धान सुरु गरेको छ ।

अनुसन्धान प्रक्रिया सुरु हुँदै गर्दा सम्पत्ति शुद्धीकरण अनुसन्धानमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई उनका समर्थकले सामाजिक सञ्जालमा क्लीन चिट दिईरहँदा उनै प्रचण्डका परिवार भने अनुसन्धानको दायरामा तानिन लागेको बताइएको छ । आफ्नो नाममा १४ कट्ठा जग्गाबाहेक कुनै पनि भौतिक सम्पत्ति नरहेको विवरण बुझाउने गरेका प्रचण्डको परिवारका सदस्यहरुको अकुत आम्दानीमाथि अनुसन्धानको सुई पुनःतेर्सिएपछि प्रचण्डसम्म पुग्ने आँकलन गरिएको छ । तीन पटकसम्म मुलुकको प्रधानमन्त्री भइसकेका प्रचण्डकै संरक्षणमा उनको परिवारका सदस्यबाट भएका अनियमितताका तथ्यहरु बाहिरन थालेका छन् । 

जेनजी आन्दोलन अगावैै प्रचण्ड पुत्री गंगा दाहालले बोक्ने ‘गुसी’ कम्पनिको ब्याग सामाजिक सञ्जालमा ‘नेपोबेवी’ नाममा भाइरल बनेको थियो । उनै गंगा दाहालको भनिएको ललितपुरस्थित घर जलेर खरानी भयो । केही नोट र सुन भेटिएको समेत चर्चा चुलिएको थियो । तर, ललितपुरमा भएको भनिएको उक्त घर गंगाको नाममा देखिएको छैन । यद्यपि, प्रचण्डले भने उक्त घर गंगाकै भएको एक टेलिभिजन अन्तर्वार्तामा स्वीकारेका छन् । 

dc1a1973-d7d9-4f3e-8fea-d160f059314e

हाल गंगा दाहाल र उनका पति जीवन आचार्य माथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग ले सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान अघि बढाइरहेको छ । उनीहरूसँगै दाहाल परिवारकै सदस्य सरह मानिने प्रकाश रायमाझि माथि पनि छानबिन सुरु भएको छ।

अनुसन्धानका क्रममा गंगा दाहालको नाममा चितवन र मोरङ जिल्लामा करिब २४ रोपनी जग्गा रहेको तथ्य खुलेको छ । ती जग्गा खरिद गर्दा प्रयोग गरिएको आर्थिक स्रोतको वैधता पुष्टि हुने आधार नदेखिएको सम्पत्ति शुद्धीकरण विभागका अधिकारीहरू बताउँछन् । २०७८ मंसिर २० मा मोरङमा १४ कट्ठा र सोही वर्ष फागुन १८ मा थप २० कट्ठा जग्गा राजीनामामार्फत खरिद गरिएको देखिन्छ । २०८० चैत ९ मा चितवनको पटिहानी क्षेत्रमा पनि वकसपत्रमार्फत जग्गा प्राप्त भएको अभिलेख छ । परिवारले केही सम्पत्ति माइती र पैतृक स्रोतबाट आएको दाबी गरे पनि यति ठूलो परिमाणको सम्पत्तिको स्रोत स्पष्ट छैन ।

जीवन आचार्यको सम्पत्ति विवरणले पनि उनको अस्वाभाविक आर्थिक वृद्धिलाई लिएर प्रश्न उठेको छ । सानो व्यवसायबाट सार्वजनिक जीवनमा आएका आचार्यको सम्पत्ति विस्तार अपेक्षाभन्दा तीव्र देखिएको भन्दै त्यसको स्रोतबारे छानबिन भइरहेको छ । उनले कोशी प्रदेशमा मन्त्री रहँदा बुझाएको विवरणअनुसार ललितपुर, विराटनगर र मोरङमा घरजग्गा स्वामित्व देखाएका छन् । साथै, २० तोला सुन, ५० तोला चाँदी, ४५ लाख रुपैयाँ बैंक मौज्दात र करिब ८० लाख रुपैयाँ बराबरको शेयर लगानी उल्लेख गरेका छन् । यद्यपि, ती सम्पत्तिको स्रोत, कर विवरण र व्यवसायिक आम्दानीबारे स्पष्ट पारदर्शिता नदेखिएको आरोप छ ।

आचार्यको नाममा दर्ता भएको ‘जेएमडी’ कम्पनी (२०७८ साउन १६) र गंगा दाहाल, जीवन आचार्य तथा प्रकाश रायको संलग्नता रहेको भनिएको ‘धनुश्री ट्रेडिङ’ कम्पनीमाथि समेत अनुसन्धान भइरहेको छ । उक्त कम्पनीको वास्तविक कारोबार र गतिविधि अस्पष्ट रहेको स्रोतहरूको दाबी छ ।

यता प्रकाश रायको नाममा रहेको ‘स्किमा टेक्नोलोजी प्रा.लि.’ ले न्यून नाफा देखाए पनि उनको नाममा करोडौं मूल्यको सम्पत्ति रहेको तथ्य बाहिर आएको छ । उनको आय र सम्पत्ति बीच असन्तुलन देखिएको भन्दै अनुसन्धान भइरहेको छ । साथै, अवैध बिटक्वाइन कारोबार, मुद्दा मिलाउने प्रयास, र गोप्य सूचनाको दुरुपयोगजस्ता गम्भीर आरोपहरू पनि उनीमाथि लागिरहेका छन् ।

यसरी सम्पत्ति शुद्धीकरणमा आँफुलाई चोख्याउन खोज्दै संसदमा नै अन्य नेता तथा राज्यको उच्च पदमा रहेकाहरुको सम्पत्तिमाथि अनुसन्धान हुनु पर्ने माग राखेका प्रचण्डका परिवार नै अनुसन्धानमा तानिएसंगै उनका परिवारका सदस्य मात्र नभई उनका सचिवालय रहेर काम गरेकाहरु पनि अनुसन्धानको दायरामा तानिने सम्भावना बढेको छ ।


 

 
 
 
 
विहीबार, २६ चैत्र २०८२, १२ : ३६

प्रतिक्रिया