शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस अध्यापन सुरु हुँदै

विहीबार, २६ चैत्र २०८२, १५ : ०६

काठमाडौं–कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक वर्षबाट अध्यापन सुरु गर्ने निर्णय भएको छ । विश्वविद्यालयका सहकुलपतिसमेत तथा शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार विश्वविद्यालयको बैठक कक्षमा बसेको विश्वविद्यालय सभा (सिनेट)को बैठकले अध्यापन सुरु गर्न पूर्वतयारी यसै शैक्षिक वर्षमा सक्ने निर्णय गरेको हो ।

तत्काल तयारी सकेर आगामी शैक्षिक वर्षबाट अध्यापन थाल्ने निर्णय भएको विश्वविद्यालयका उपकुलपतिमा प्राडा सुनिलकुमार जोशीले बताए । अध्यापनका लागि बनाइएका आवश्यक नियमावली मागी बैठकमा छलफल भएको बताउँदै उनले पारित गर्न मन्त्रिपरिषद्मा पठाउने निर्णयसमेत भएको बताए । विश्वविद्यालयमा सञ्चालनमा रहेको ५० शैय्याको अस्पताललाई तीन सय शैय्यामा स्तरोन्नति गरी शिक्षण अस्पताल बनाउने निर्णयसमेत भएको प्राडा जोशीले बताए ।

यसले विश्वविद्यालयमा अध्यापन सुरु गर्न आधार तयार हुने उनले बताए । आगामी शैक्षिक सत्रदेखि उक्त विश्वविद्यालयमा ५० सिट एमबीबीएस, ३० सिट नर्सिङ, २० बीएससी एमएलटी र २० बी अप्टोमेटरी अध्यापन गर्ने तयारी भइरहेको बताउँदै उपकुलपति प्राडा जोशीले उक्त तयारी छिट्टै सक्ने निर्णय भएको बताए । उनले आगामी शैक्षिक वर्षमा अध्यापन सुरु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयको ७५ प्रतिशत छात्रवृत्तिको वित्तीय स्रोत पनि सुनिश्चित गरिसकेको बताए ।

विहीबार, २६ चैत्र २०८२, १५ : ०६

प्रतिक्रिया