इरानले होर्मुज स्ट्रेट नियमन गर्ने सहमति नभएको ट्रम्पको दाबी

शुक्रबार, २७ चैत्र २०८२, १३ : २५

काठमाडौं अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले होर्मुज स्ट्रेटमा पानीजहाजहरू इरानले नियमन गर्ने विषय आफूहरूको सहमतिमा नभएको बताएका छन्।

सामाजिक सञ्जाल ट्रूथमा पोस्ट गर्दै ट्रम्पले इरानले ‘राम्रो नगरेको’ बताएका छन्। इरानले यसअघि होर्मुज स्ट्रेट हुँदै इन्धन ढुवानी गर्ने जहाजहरूलाई आफ्नो सेनाले सहजीकरण गर्ने र जहाजहरूले अनुमति लिनुपर्ने जनाएको थियो।

प्रतिक्रियामा ट्रम्पले भनेका छन्, ‘त्यो हामीबीच भएको सहमति हुँदै होइन।’

यसअघि यो मार्ग हुँदै वारपार गर्ने जहाजहरूलाई इरानले शुल्क असुलेको विवरणहरू आएका थिए।

ट्रम्पले इरानले शुल्क लिनु राम्रो नहुने बताएका छन्।

‘उनीहरूले त्यसो नगर्दा राम्रो हुन्छ। यदि गरिरहेका छन् भने अहिले नै बन्द गरून्’ ट्रम्पले भनेका छन्।

यूकेकी विदेशमन्त्री इभेट कुपरले अन्तर्राष्ट्रिय जलमार्गमा शुल्क उठाउन नमिल्ने बताएकी छन्।

होर्मुज स्ट्रेट खुला गरिनु सबैका लागि अति जरुरी रहेको र कुनै पनि देशले यस्तो जलमार्ग बन्द गर्नु सामुद्रिक कानुनको आधारभूत सिद्धान्त विपरीत रहेको उनको भनाइ छ।

उनले अहिलेको युद्धविराम अन्तर्गत मात्रै नभएर दीर्घकालसम्मका लागि होर्मुज स्ट्रेट पूर्ण रूपमा र निःसर्त रूपमा खुला रहनुपर्ने बताइन्।
‘समुद्रको आधारभूत स्वतन्त्रता कसैले एकपक्षीय रूपमा फिर्ता लिन सक्दैन वा कुनै एक ठेकेदारलाई बिक्री गर्न सक्दैन। अन्तर्राष्ट्रिय जलमार्गमा कुनै शुल्क लगाउन पनि मिल्दैन,’ कुपरले भनिन्।

अमेरिका र इरानबीच युद्धविराम घोषणा भए पनि सहमति भएका विषयमा दुवै पक्षबीच परस्पर बाझिने भनाइहरू आइरहेका छन्।
ऐजेन्सी


 

शुक्रबार, २७ चैत्र २०८२, १३ : २५

प्रतिक्रिया