काठमाडौं- निर्माणाधिन नागढुंगा–मुग्लिङ सडकको अनुगमनमा निस्किएका गृहमन्त्री सुधन गुरुङसँग निर्माण व्यवसायीहरुले सुरक्षा माग गरेका छन् ।
ठेक्का लिएर साइटमा काम गर्न जाँदा अनेक बहानामा स्थानीयस्तरमा अवरोध आउने गरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काले मन्त्रीसँग देशैभरका आयोजनामा सुरक्षा माग गरेका हुन् । उपाध्यक्ष खड्काले निर्माणाधिन नागढुंगा–नौबिसे सडकखण्डमा ठेक्का लिएर काम गर्दै आइरहेका छन् ।
आयोजनामा अनधिकृत व्यक्तिले काम रोक्न आएको अवस्थामा सार्वजनिक मुद्दा लगाएर कारवाही गर्न माग गरे । निर्माणाधिन नागढुंगा–मुग्लिङसडकमा काम गरिरहका खड्काले निर्माण सम्पन्न भएर हस्तान्तरण भएको ५ वर्षसम्म मर्मतको जिम्मेवारी निर्माण कम्पनीको रहने जानकारी गराए । सडक निर्माणमा गुणस्तरीयता कायम गर्न फास्टट्रयाकबाट निर्माण सामाग्री ल्याएर काम गर्नुपरेको बताए ।
सरकारले छुट्याएको क्षेत्रबाट पर्याप्त निर्माण सामाग्री उत्खनन् गर्न नपाउँदा आयोजनाले लक्ष्य अनुसारको काम गर्न नसकेको जानकारी गराए । आयोजनालाई आवश्यक निर्माण सामाग्री उत्खनन् गर्न आफैले किने जग्गामा समेत मुद्दा लड्नु परेको उपाध्यक्ष खड्काले गृहमन्त्री गुरुङ सहितको टोलीलाई जानकारी गराए ।
निर्माण आयोजनालाई आवश्यक नदीजन्य निर्माण सामाग्री सरकारले अनुमति दिएको स्थानबाट उपलब्ध गराउन माग गरे । उनले आयोजना क्षेत्रमा रहेका नदीजन्य निर्माण सामग्रीको प्रशोधन केन्द्र क्रसरहरु चल्ने वातावरण बनाउँन समेत माग गरे ।
सडक निर्माणको सिजन २ महिना बाँकी रहेकाले सरकारले बिटुमिन र पेट्रोलिय पदार्थको सहज उपलब्धता गराए कामले गति लिने जानकारी दिए ।
मन्त्री गुरुङले निर्माण आयोजनाहरुमा अनावश्यक पैसा उठाउने गरेको गुनासो आफूले विगतदेखि नै सुन्दै आएको बताए । पूर्वाधार क्षेत्रमा काम गर्ने व्यवसायी माथीको धरपकड सह्य नहुने भन्दै मन्त्री गुरुङले त्यस्ता कार्य तत्काल रोक्न प्रमुख जिल्ला अधिकारी सिडियो र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिए ।
एक जनाले निर्माण आयोजनामा आएर धम्काएको भरमा काम रोक्ने अवस्थाको अन्त्य गर्ने आश्यवासन समेत गृहमन्त्री गुरुङले दिए । अन्तर मन्त्रालय समन्वयले रोकिएका ठाउँहरुमा समेत समन्वय गरेर काम अघि बढाउने मन्त्री गुरुङले बताए ।
शान्ती सुरक्षा बिना विकासले गति लिन नसक्ने भन्दै त्यस्ता कार्यहरु दोहोरिए सिडियो र एसपीलाई कारवाही गर्ने चेतावनी समेत दिए ।
प्रतिक्रिया