नयाँ वर्ष २०८३ मा शेखर कोइरालाको सन्देशः परिणाममुखी सरकार र युवाको नेतृत्वमा जोड

मंगलबार, ०१ बैशाख २०८३, ११ : १५

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै उनले बितेको वर्षले नेपालको राजनीतिमा नयाँ मोड ल्याएको उल्लेख गरेका छन्। विशेषगरी युवापुस्ताको बढ्दो सक्रियता, चेतना र सहभागिताले राजनीतिक परिवेशलाई नयाँ दिशा दिएको उनको भनाइ छ । सामाजिक सञ्जालदेखि सडकसम्म युवाहरूको आवाज अब विरोधमा मात्र सीमित नरही नेतृत्व र उत्तरदायित्वतर्फ उन्मुख भएको उनले बताएका छन् ।

कोइरालाले वर्तमान अवस्थामा सरकारप्रति जनताको अपेक्षा उच्च भएको उल्लेख गर्दै परिणाममुखी, पारदर्शी र जवाफदेही नेतृत्वको आवश्यकता औंल्याएका छन् । “काम गर्ने, देखिने र अनुभव गर्न सकिने सरकार आजको आवश्यकता हो,” उनले सन्देशमा भनेका छन् ।
उनले सुशासन र विकासबीच सन्तुलन कायम गर्दै देशलाई समृद्धिको मार्गमा अघि बढाउनु सरकारको प्रमुख दायित्व भएको पनि उल्लेख गरेका छन् ।

लोकतन्त्र स्थापनाका लागि भएका लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित नेपाली कांग्रेस अझै पनि राष्ट्रिय राजनीतिको महत्वपूर्ण शक्ति भएको बताउँदै उनले बदलिँदो समयअनुसार पार्टीलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । नयाँ पुस्तालाई समेट्दै अघि बढ्नुपर्ने र मूल्य, सिद्धान्त तथा आदर्शमा अडिग रहनुपर्नेमा उनले जोड दिएका छन् । 

कोइरालाले राष्ट्रिय मेलमिलाप, एकता र सहकार्यलाई वर्तमान आवश्यकता औंल्याउँदै त्यसतर्फ सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन् ।

सन्देशको अन्त्यमा उनले नयाँ वर्षले सबैमा सकारात्मक सोच, ऊर्जा र एकताको भावना ल्याओस् भन्ने कामना गर्दै समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणका लागि साझा प्रयास आवश्यक रहेको उल्लेख गरेका छन् । 

 
मंगलबार, ०१ बैशाख २०८३, ११ : १५

प्रतिक्रिया