काठमाडौं– भारतको बिहार राज्यमा राजनीतिक इतिहासमै महत्त्वपूर्ण मोड आएको छ । भारतीय जनता पार्टी (भाजपा) का नेता सम्राट चौधरीले बुधबार बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन्। यससँगै लामो समयदेखि राज्य राजनीतिमा प्रभाव जमाउँदै आएका नितिश कुमारको युग समाप्त भएको संकेत गरिएको छ ।
राज्यसभामा जाने निर्णय गर्नुअघि एक दशकभन्दा बढी समय बिहारको नेतृत्व सम्हालेका नितिश कुमारको उत्तराधिकारीका रूपमा सम्राट चौधरी बिहान राज्यपालको निवास बिहार लोक भवनमा पुगेका थिए । त्यहीँ बिहारका राज्यपाल सैयद अता हसनैनले उनलाई मुख्यमन्त्री पदको शपथ दिलाएका हुन् ।
नितिश कुमारको राजीनामापछि चौधरी बिहारका पहिलो भाजपा मुख्यमन्त्री बनेका छन् । सन् २०२५ को विधानसभा चुनावमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले ऐतिहासिक जित दर्ता गरेपछि उहाँले रेकर्ड १०औँ पटक मुख्यमन्त्रीको रूपमा शपथ लिनुभएको थियो । यसले राज्य राजनीतिमा लामो समयसम्म उनको प्रभाव देखाएको थियो ।
तर अब ५७ वर्षीय सम्राट चौधरीले उहाँको स्थान लिँदै बिहारको नेतृत्व सम्हालेका छन् । उनको उदयलाई केवल सत्ता परिवर्तनका रूपमा मात्र नभई बिहारको राजनीतिक युग परिवर्तनका रूपमा पनि हेरिएको छ, जहाँ नितिश कुमारको ‘सुशासन’ केन्द्रित शासन शैलीले लामो समय प्रभाव जमाएको थियो ।
सम्राट चौधरीको राजनीतिक यात्रा रोचक मानिन्छ । राजनीतिमा प्रारम्भिक प्रवेश उनले १९९० को दशकमा राष्ट्रिय जनता दल (आरजेडी) बाट गरेका थिए भने पछि सन् २०१८ मा उनी भाजपा प्रवेश गरेका हुन्। सन् २०२३ मा उनलाई भाजपा प्रदेश अध्यक्ष बनाइएको थियो र सन् २०२४ मा उनले बिहारको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
सन् १९६८ मा जन्मिएका चौधरी राजनीतिक रूपमा प्रभावशाली परिवारबाट आएका हुन्। उनका पिता शकुनी चौधरी तारापुर निर्वाचन क्षेत्रबाट ६ पटक विधायक निर्वाचित भएका थिए भने आमा पार्वती देवीले सन् १९९८ मा तत्कालीन समता पार्टीबाट सोही क्षेत्र जितेकी थिइन् ।
पहिले नितिश कुमारका कट्टर आलोचक रहेका चौधरी सन् २०२४ मा भाजपा–जेडीयु गठबन्धन पुनः बनेपछि राजनीतिक रूपमा नयाँ भूमिकामा देखिएका थिए । सन् २०२२ मा उनले सार्वजनिक रूपमा नितिश कुमारलाई सत्ताबाट हटाएपछि मात्र आफ्नो प्रतीकात्मक ‘मुरेथा’ (पगडी) उतार्ने बताएका थिए, जसले उनको आक्रामक राजनीतिक शैली झल्काउँथ्यो ।
आजको शपथ ग्रहणअघि केन्द्रीय मन्त्री चिराग पासवानले चौधरीलाई भेटेर शुभकामना व्यक्त गरेका थिए । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै चौधरीको नेतृत्वमा बिहार विकास, सुशासन र समृद्धिको नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका थिए ।
सम्राट चौधरीको नेतृत्वलाई ओबीसी समुदाय, विशेषगरी कोइरी÷कुशवाहा समूहबीच पार्टीको समर्थन विस्तार गर्ने रणनीतिक कदमका रूपमा पनि विश्लेषण गरिएको छ ।
प्रतिक्रिया