काठमाडौं- पछिल्लो एक महिनाको अवधिमा नेपाल आयल निगमले सरकारको सहमतिमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै उल्लेख्य वृद्धि गरेको छ । यस अवधिमा डिजेलको मूल्य करिब ६६ प्रतिशत र पेट्रोलको मूल्य झण्डै ४० प्रतिशतले बढेको छ । अमेरिका–इजरायल गठबन्धन र इरानबीच सुरु भएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालजस्ता आयातमा निर्भर मुलुकमा परेको हो ।
निगमले पछिल्लो पटक बिहीबार बिहानदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य वृद्धि गर्ने निर्णय गरेको छ । यससँगै डिजेलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ । चैत १ गतेको तुलनामा यो वृद्धि करिब ६६.९० प्रतिशत रहेको निगमले जनाएको छ ।
सरकारले पेट्रोलियम पदार्थमा केही राहत दिन प्रयास नगरेको भने होइन । यसअघि सरकारले पेट्रोलियम पदार्थमा लाग्ने भन्सार शुल्क तथा पूर्वाधार विकास करमा ५० प्रतिशतसम्म कटौती गरेको थियो, जसअनुसार पेट्रोलमा करिब १७ रुपैयाँ र डिजेलमा १२ रुपैयाँ घटाइएको थियो । सरकारले करमा दिएको छुट पश्चात पनि पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले आम नागरिक भने आर्चश्यचकित परेका छन् । अन्तर्राष्ट्रिय अभ्यासको तुलनामा यो सहुलियत पर्याप्त नभएको भन्दै सर्वसाधारणबाट सरकारको आलोचना समेत हुन थालेको छ ।
यसै अवधिमा पेट्रोलको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ । चैत १ गतेसम्म १५७ रुपैयाँ प्रतिलिटर रहेको पेट्रोलको मूल्य बढेर हाल २१९ रुपैयाँ पुगेको छ, जुन करिब ४० प्रतिशतको वृद्धि हो । त्यस्तै, आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य पनि बढेर प्रतिलिटर २५६ रुपैयाँ पुगेको छ । यसअघि चैत १९ गते निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ रुपैयाँले बढाएर २५१ रुपैयाँ पु¥याएको थियो ।
इन्धनको मूल्यमा भएको वृद्धिको प्रभाव यातायात तथा हवाई क्षेत्रमा प्रत्यक्ष रूपमा परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरिसकेको छ । नयाँ दरअनुसार काठमाडौँ–भैरहवा उडानका लागि अधिकतम ११ हजार १६ रुपैयाँ भाडा तोकिएको छ, जुन अघिल्लो दरभन्दा २ हजार ५३५ रुपैयाँ बढी हो। त्यस्तै, काठमाडौँ–धनगढी रुटमा अधिकतम भाडा २३ हजार ५९ रुपैयाँ निर्धारण गरिएको छ, जहाँ भाडा ५ हजार ४३५ रुपैयाँले वृद्धि भएको छ ।
यता, यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । यात्रुबाहक सवारीसाधनमा १६.७१ प्रतिशतले भाडा बढाइएको छ भने पहाडी क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको छ ।
पेट्रोलियम पदार्थको सहज आयात हुँदाहुँदै पनि निरन्तर रुपमा भएको मूल्य वृद्धिले आम उपभोक्त त्यसको प्रत्यक्ष मारमा परिरहेका छन् । सरकारले विकल्पका रुपमा साप्ताहिक रुपमा दुई दिन सार्वजनिक विदा दिएता पनि निरन्तर रुपमा भएको भारी मूल्य वृद्धिका कारण त्यसको प्रभावकारीतामाथि नै प्रश्न उठ्न थालेको छ ।
प्रतिक्रिया