काठमाडौं– नवगठित रास्वपाका बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारका मन्त्रिहरूको सम्पत्ति विवरण चौतर्फी चर्चाको विषय बन्दै गर्दा पछिल्लो आइफोन प्रकरणले झनै सरकारको आलोचना चुलिएको छ ।
प्रधानमन्त्रीदेखि सबै मन्त्रीसँग अत्यधिक सुनचाँदीदेखि प्रशस्तै जग्गा जमिन र काठमाडौंमा घर भएको सूची सार्वजनिक सम्पत्ति विवरण विवरणमा उल्लेख छ ।
तर त्यसको स्रोत नखुलाइएको भन्दै सरकारको आलोचना बढिरहेको बेलामा प्रधानमन्त्री शाह सहित सबै मन्त्रीहरूले अलगै मोबाइल फोन सञ्चालनका लागि राज्यकोषबाटै आइफोन लिएको समाचार सार्वजनिक भएपछि सरकारमाथि प्रश्न उठेको छ ।यद्यपि, सरकारले भने राज्यकोषबाटै सुविधा उपलब्ध गराएर अलगै मोबाइल फोनको व्यवस्था नगरिएको बताएको छ ।
जेनजी विद्रोहको स्वामित्व ग्रहण गर्दै निर्वाचनमा होमिएर जनताबाट करिब दुई तिहाइको विश्वास आर्जन गरेर रास्वपाले सत्तारोहण गरेको हो । तर सरकारमा पुगेपछि जनतालाई सुशासनको प्रत्याभूति दिलाउनुको साटो राज्यकोषबाटै महंगो मोबाइल फोन उपलब्ध गराएपछि नयाँ पुराना सबै उस्तै भन्ने भाष्यललाई नै बल पुर्याएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहको बलमा भएको फागुन २१ को निर्वाचनमा रास्वपाले परम्परागत दलहरूलाई विस्थापन गर्दै पहिलो शक्ति बनेको छ । तथापि उही पुरानै सुविधाभोगी प्रवृत्तिले भने रास्वपाको नेतृत्वको सरकारमाथि जेनजी विद्रोहको भावना विपरीत सुविधामोहमा फस्न थालेको भन्दै सामाजिक सञ्जालबाट सचेत गराइएको छ ।
प्रतिक्रिया