काठमाडौँ- राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो अधिवेशन वैशाख ११ र १२ गते चितवनको नारायणगढ मा हुने भएको छ ।
६३ जिल्ला र आठ प्रदेश समितिसहित झन्डै १६ सय सदस्य रहेको सङ्घको महाधिवेशनमा देशभरबाट करिब ६ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
वैशाख ११ गते उद्घाटन हुने अधिवेशनको तयारी पूरा भइसकेको र देशभरका प्रतिनिधि उत्साहका साथ सहभागी हुन लागेको सङ्घका वरिष्ठ उपाध्यक्ष गोपाल बराइलीले जानकारी दिएका छन् ।
दलित समुदायका पत्रकारको साझा संस्थाका रूपमा रहेको संघले जातीय भेदभाव तथा छुवाछूत अन्त्य, मानवअधिकार, समावेशी सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणका लागि मिडियामार्फत सङ्गठित पहल र पैरवी गर्दै आएको जनाएको छ ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । हाल संघका अध्यक्ष विनोद पहाडी छन् भने महासचिव लक्ष्मण दर्नाल छन् ।
प्रतिक्रिया