काठमाडौँ- ICRA नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड (MHPL) को सुधारिएको वित्तीय प्रदर्शन र बलियो सम्पत्ति गुणस्तरलाई ध्यानमा राखी क्रेडिट रेटिङ्ग अपग्रेड गरेको छ ।
कम्पनीको दीर्घकालीन कर्जा रेटिङ्ग LBB+ बाट बढाएर LBBB-गरिएको छ भने अल्पकालीन रेटिङ्ग A4+ बाट सुधार भई A3 पुगेको छ । यस रेटिङ्ग अपग्रेडले MHPL को समग्र क्रेडिट प्रोफाइल सुदृढ बनाउने दिशामा भएको निरन्तर प्रगतिलाई देखाउँछ ।
कम्पनीले विशेषगरी मोबाइल फोन फाइनान्सिङ्गको क्षेत्रमा राम्रो रिकभरी संयन्त्र र प्रविधिमा आधारित नियन्त्रण प्रणाली अपनाएका कारण सम्पत्ति गुणस्तरमा उल्लेखनीय सुधार गरेको छ । MHPL ले नाफा आर्जनको स्तर पनि सन्तुलित रूपमा कायम राखेको छ। कम्पनीको नेट इन्ट्रेस्ट मार्जिन स्थिर रहेको छ भने सञ्चालन खर्च नियन्त्रणमा राख्दा निरन्तर सञ्चालन नाफा कायम राख्न सहयोग पुगेको छ ।
साथै, कम्पनीले करिब ९६ प्रतिशतको बलियो प्रावधान कभरेज कायम राखेको छ, जसले वित्तीय स्थायित्व बढाउनुका साथै सम्भावित नोक्सानी वहन गर्ने क्षमता सुदृढ बनाएको छ । यसको कर्जा पोर्टफोलियो पनि विविध र स–साना खण्डमा विभाजित रहेको छ, जसमा मध्यम लोन–टु–भ्याल्यु अनुपातमा ध्यान दिइएकोले जोखिम न्यूनीकरणमा मद्दत पुगेको छ ।
पाँच दशकभन्दा लामो समयदेखि नेपालको अटोमोबाइल क्षेत्रमा स्थापित एमएडब्लू ग्रुपको हिस्सा हुनु पनि MHPL को लागि थप बलियो पक्ष हो । यो समूहको सशक्त बजार उपस्थिति र अग्रणी ब्रान्डहरूसँगको साझेदारीले व्यवसाय विस्तारमा सहयोग गर्नुका साथै वित्तीय संस्थाबाट हुने लगानीको पहुँचलाई सहज बनाएको छ ।
एमएडब्लू हायर पर्चेज प्रा.लि.को बारेमा
सन् २०११ मा स्थापना भएको एम.ए.डब्लू. हायर पर्चेज प्राइभेट लिमिटेड (MHPL) नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको बृहत् मार्गदर्शन अनुसार सञ्चालन हुँदै आएको छ । यसको केन्द्रिय कार्यालय मोरङको विराटनगरमा रहेको छ भने शाखा कार्यालय काठमाडौंको त्रिपुरेश्वरमा छ, जहाँबाट कम्पनीका मुख्य सञ्चालन गतिविधिहरू अघि बढाइन्छ ।
ग्राहकलाई सहज र झन्झटरहित हायर पर्चेज सेवा उपलब्ध गराउने उद्यमशील दृष्टिकोणसहित कम्पनी स्थापना गरिएको हो ।
प्रतिक्रिया