उनी जन्मेको ठ्याक्कै १५६ बर्ष बित्यो आज । एसिया र युरोप दुइ महादेश फैलिएको, बिश्वको सबैभन्दा ठुलो भूभागमा क्रान्ति सम्पन्न गर्ने महान विचारक भ्लादमीर उल्यानोव लेनिनलाइ सम्झने दिन आज । महान लेनिन किसान र मजदुरका साथी, बुद्धिजिवी र जनसैनिकका गुरु, उनको योगदान विश्वमानव जगतको लागि अतुलनीय छ । त्यो महान चेतनालाई सलाम !
नेपालमा उनको जन्म दिन पारेर ७८ वर्ष अघि आजकै दिन जन्मेको पार्टीका उत्तराधिकारी भन्न रुचाउनेहरु अहिले फरक फरक दोकान चलाइरहेका छन् र मौका मिल्दा बित्तिकै गैर कम्युनिस्टहरुसँग सत्ता साझेदार गरेर आफ्नो स्वार्थको रोटी सेकाए, जबकि नेपाली जनताको ७० प्रतिशत भन्दा बढी यो देशमा कम्युनिस्ट समर्थक थिए अहिले कम्युनिस्ट राजनीतिको ठेक्का लिनेहरुको अपराध, भ्रस्टाचार, गल्ति र कमजोरीका कारण अब कम्युनिस्ट जनमत २० प्रतिशत पनि बाँकी रहेन।
बरु नेपालका श्रमजीवी मजदुर ,किसान , स्वास्थ्यसेवक, सेना, प्रहरी, शिक्षक सबै पेशाकर्मी देशले व्यहोरेका पछिल्ला विपद्हरु विरुद्ध एकाकार भएर आफैं लडिरहेका छन् । संकटहरुलाई सँगसँगै परास्त गर्दैछन। जनता आफ्ना संकट आफैं टार्दैछन, पुराना नेता त धर्तिका बोझ पो भएका छन्।
लेनिनको जस्तै झण्डा मुनि बसेको जस्तो नाटक गरेर गैर वैचारिक पार्टी सत्ता चलाइरहेका हाम्रा केही मित्रहरु भने निरो जस्तै बाँसुरी बजाइरहेका छन्, रोम जलिरहँदा । प्रतिगमनले टाउको उठाउँदै राष्ट्रिय संकटहरू बढिरहेका बेला जनता जुटाउने, पुनरुत्थान, अल्पविकास, भ्रस्टाचार र विपद्हरु विरुद्ध लड्ने विधि विधानको खोजी गर्नुपर्नेमा वर्ग उत्थानका विधिहरु अन्वेषणमा अहिलेको पुस्ताको चेतना प्रदूषित गर्नु बोल्सेभिक स्पिरिट पक्कै होइन । यी नक्कली बोल्सेभिक हुन्।
यदि‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने’ आरोप खेपिरहेको अहिलेको हाम्रो संसद्भित्र सच्चा बोल्सेभिक पनि छन्, यदि कोही भने आजकै दिनदेखि सोच्नु र प्रतिज्ञा गर्नु कि बोल्सेभिक स्पिरिटको रक्षा गरिनेछ। कम्युनिस्ट एकताको पहल गरिनेछ। त्यसका लागि सबैभन्दा पहिले आफ्नो श्रीपेच त्याग्न वा फ्याँक्न तयार हुनु पर्छ।
गत जेनजी आन्दोलनका बेला यदि हामीसंग बोल्सेभिक पार्टी बाँकी थियो र लेनिन जस्तो नेतृत्व थियो भने त्यो आन्दोलनले रुसी अक्टोबर क्रान्तिको रुप लिन्थ्यो, दुर्भाग्य हामीबाट एउटा बिघटन भैसकेको थियो र अर्कोको निधन भैसकेको थियो।
जनताले नलखेटेसम्म आफ्नो श्रीपेच नछोड्ने हिजोका महाराजा र अहिलेका तथाकथिक कम्युनिस्ट नेतामा फरक चाहि के रह्यो र ! सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुले नवसामन्तहरुको गुठीयार बनिरहनु पर्ने ?
जनतामाथि विपदहरु आइलागीरहेका बेला यदि तिमि निरीह छौ भने आफ्नो मुटु छाम, त्यहाँ बोल्सेभिक रगत मर्यो। तिमीले लेनिन बिर्सीसक्यौं। भ्रस्टाचार र बेथितिको महामार्ग हुँदै समाजवाद आउँदैन। यी दुई विरुद्ध क्रान्तिकारी निशाना सोझ्याऊ।
मार्क्सवाद, लेनिनवाद, माओवाद(विचार) विज्ञान हो र यो रक्तरंजित इतिहासको अनुसन्धानको निष्कर्ष हो । यसको कसैले मजाक उडाउनु हुँदैन। मुटुभित्र देश र मस्तिष्कमा स्पष्ट विचार बोकेर स्वदेश फर्किनेलाई फेरि सिमाना पारी लखेटिने कुचेस्टा कसैले कदापि नगरुन। नत्र जन्मघर खोज्दै थातथलो हिडेका सर्बहारा , किसान , मजदुरका पैतालाले तिमीलाई सराप्ने छन् ।
एक पटक फेरि लेनिन सम्झौं र साझा बोल्सेभिक स्पिरिटको अनुसन्धान गरौं। महान लेनिनलाई सलाम ! आदरणीय पुस्पलाल टीमलाई सलाम! जसले आजको दिन ७८ वर्षअघि नेपालमा कम्युनिस्ट क्रान्तिको सपना बुने। नेपालीहरुको औसत आयु ७८ वर्ष भनिन्छ– हाम्रो औसत आयु जति पुगेको नेपाली कम्युनिस्ट आन्दोलनले अब पुनर्जन्म खोजेको छ। मार्क्सवाद वैज्ञानिक विचार भएकाले पुनर्जन्ममा बिस्वास गर्नु पनि भएन तर तथ्य हरुले सत्य प्रमाणित भएको कुरा कम्युनिस्ट नामधारी पार्टीहरुको निधन भएको वैज्ञानिक सत्य स्वीकार्नै पर्ने हुन्छ।
नेपाली समाजका वर्तमान अन्तरविरोधहरुको समाधान निधन भैसकेको कम्युनिस्ट पार्टी र निजीकरण गरिएको कम्युनिस्ट आन्दोलनले होइन कि जन्मदै गरेको मार्क्सवादी विचारको सारतत्व बोकेको नयाँ पार्टीले मात्रै गर्न सक्छ । आउनुहोस् एक पटक अहिलेका पुस्पलाल टीमको पुनर्जन्म गरौं । पुष्पलाल फेरि जन्मिनु अवैज्ञानिक होइन, जसरी तथाकथित कम्युनिस्ट नेता र पार्टीको निधन हुनु कुनै दैवी कारण होइन।
प्रतिक्रिया