काठमाडौं- सल्यानको शारदा नगरपालिकाले बसपार्कको उद्घाटन गर्ने भन्दै सार्वजनिक बिदा दिएको छ । बुधबार (आज) उक्त नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
नगरपालिकाले एक पत्र नै सार्वजनिक गरेर वडा नम्बर १ स्थित नगरपालिकाको गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न भएको श्रीनगर आधुनिक बसपार्कको समुद्घाटन हुने भएकाले सार्वजनिक बिदा दिइएको उल्लेख छ ।
‘मातहतका वडा कार्यालयहरू, शैक्षिक संस्थाहरू (विद्यालय), स्वास्थ्य संस्थाहरू तथा अन्तर्गतका निकायहरूमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो,’ पत्रमा भनिएको छ, ‘सार्वजनिक बिदाका कारण सेवा प्रवाहमा पर्न जाने असुविधाप्रति कार्यालय क्षमाप्रार्थी छ ।
साथै पूर्व निर्धारित कुनै पनि परीक्षाका कार्यक्रमहरू भने यथावत् रूपमा सञ्चालन हुनेछन् ।’ स्रोतका अनुसार आज मेयर प्रकाश भण्डारीको जन्मदिन पनि भएकाले बसपार्क उद्घाटनको चाँजोपाँजो मिलाइएको हो ।
कांग्रेसबाट निर्वाचित उनी कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवालाई ल्याएर बसपार्क उद्घाटन गर्न चाहन्थे । उनले गत भदौ २६ गते देउवाले उद्घाटन गर्ने भनेर कार्यतालिका नै सार्वजनिक गरेका थिए । तर देउवा जेनजी आन्दोलनमा घाइते भएसँगै कार्यक्रम स्थगित भएको थियो ।
प्रतिक्रिया