सरकारको विज्ञापनसम्बन्धी विभेदकारी निर्णय सच्याउन पत्रकार महासंघ काभ्रेको माग

विहीबार, १० बैशाख २०८३, १० : ३४

काभ्रेपलाञ्चोक– नेपाल पत्रकार महासंघ, काभ्रेपलाञ्चोक शाखाले सरकारले हालै लिएको विज्ञापनसम्बन्धी निर्णयप्रति कडा आपत्ति जनाउँदै तत्काल सच्याउन माग गरेको छ। महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उक्त निर्णयले निजी तथा सामुदायिक सञ्चारमाध्यममाथि गम्भीर विभेद सिर्जना गरेको ठहर गरेको हो।

महासंघका अनुसार नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेको छ। यस्तो अवस्थामा पत्रकारहरूले नियमित पारिश्रमिक र सेवा–सुविधा नपाउनु सामान्य बन्दै गएको उल्लेख गर्दै यसले सञ्चार संस्थाको दिगोपनमै असर पारिरहेको जनाएको छ।

ज्ञापनपत्रमा सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था गर्नु प्रेस स्वतन्त्रताको मर्मविपरीत भएको उल्लेख छ। महासंघले यस्तो नीतिले सञ्चार क्षेत्रको ठूलो हिस्सा ओझेलमा पर्ने र अभिव्यक्ति स्वतन्त्रतामा समेत नकारात्मक असर पार्ने चेतावनी दिएको छ।

साथै, संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र पत्रकारिताको अभ्यासलाई व्यवहारमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरिएको छ। पत्रकारहरूको पेशागत सुरक्षा, नियमित पारिश्रमिक सुनिश्चितता र समान व्यवहारको ग्यारेन्टी गर्न पनि महासंघले जोड दिएको छ।

यसअघि सम्बन्धित निकायमार्फत समस्या समाधानका लागि पहल भए पनि ठोस प्रगति नदेखिएको भन्दै महासंघ, काभ्रे शाखाले असन्तुष्टि जनाएको छ। माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिँदै महासंघले सरकारलाई तत्काल सकारात्मक कदम चाल्न आग्रह गरेको छ।

 
विहीबार, १० बैशाख २०८३, १० : ३४

प्रतिक्रिया