टिप्पणी

सुकुमबासी समस्याको स्थायी समाधान के हो ?

सोमबार, १४ बैशाख २०८३, १० : ०५

काठमाडौं - नेपालमा सुकुमबासी समस्या समाधानका लागि भनेर १८ वटा आयोग बनिसकेका रहेछन् । तर समस्या घट्नुको साटो झन बढ्दै गएको देखिन्छ । बिगतमा यो समस्यालाई सरकारहरुले आफ्ना कार्यकर्ताको व्यवस्थापनको रुपमा प्रयोग गरे ।

यद्यपी केही सकारात्मक प्रयास नभएका होइनन् । बाबुराम नेतृत्वको सरकारले यो समस्यालाई स्थायी रुपमै समाधान गर्ने तयारीका साथ अपार्टमेन्ट पनि बनाएको थियो । तर समस्यालाई राजनीतिकरण गरिदा सुकुम्बासीहरु त्यहाँ बस्न गएनन् । बरु उनीहरु विभिन्न पार्टीका भोट बैंकका रुपमा प्रयोग भैरहे । रास्वपा नेतृत्वको बलियो सरकार बनेपछि सुकुम्बासी समस्यामा ‘ब्रेक थु्र’ भएको देखिन्छ । यद्यपी सरकारका प्रक्रियागत कमी कमजोरीहरु भने रहेका छन् ।

यसै क्रमममा सरकारले शनिबार र आइतबार उपत्यकाका विभिन्न स्थानबाट सुकुम्बासी बस्ती खाली गराएको छ। काठमाडौँको थापाथली, सिनामंगल र भक्तपुरको मनोहरामा रहेका सुकुमबासी बस्तीमा डोजर चलाइएको हो।

यी बस्ती खाली गर्न नगर प्रहरी र नेपाल प्रहरीले बिहीबार नै घरदैलो गर्दै सूचना दिएका थिए। शुक्रबार साँझ ७ बजेभित्रमा बस्ती खाली गर्न भने पनि अधिकांश घर टहराहरू खाली गरिएको थिएन। 

शनिबार झिसमिसेमै काठमाडौँ महानगरपालिकाका नगर प्रहरी, ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। सुरक्षाकर्मीसँगै घरटहराहरू भत्काउन डोजर पनि लगिएको थियो। 

यसअघि पनि यो बस्ती खाली गर्न काठमाडौँ महानगरपालिकाले प्रयास गरेको थियो। तर सुकुमबासीहरूले प्रतिकार गर्दा सुरक्षाकर्मीहरू नै घाइते भए। घरेलु हतियारसहित सुकुमबासीले प्रतिकार गर्दा काठमाडौँ महानगर पछि हटेको थियो। 

त्यतिबेला तत्कालीन सरकारबाट सहयोग नभएको गुनासो काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले गरेका थिए। तर अहिले उनी आफै प्रधानमन्त्री भएपछि बस्ती हटाउन अग्रसरता देखाएका हुन्। 

बस्तीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। थापाथलीमा सामान्य रुपमै बस्ती हटाउन सफल भएपछि सिनामंगलमा पनि डोजर चलाइएको थियो। त्यहाँको बस्तीमा डोजर चलाएसँगै उनीहरू मनोहरा सरेका थिए। मनोहरामा भने शनिबार सुरक्षाकर्मीमाथि नै ढुंगामुढा भएको थियो। सुकुमबासीहरूले ढुंगामुढा गरेपछि केही सुरक्षाकर्मी घाइते भएका थिए। त्यसअघि दिउँसो थापाथलीमा सुकुमबासी बस्तीमा डोजर चलाउँदै गर्दा नेपाली सेनाको टोली पनि त्यहाँ देखिएको थियो। 

सुकुमबासी बस्ती खाली गराउन सेना परिचालन गरिएको भन्दै अहिले सामाजिक सञ्जालमा सेनाको विरोध भइरहेको छ। सेनाको टोली बस्तीमा हतियारसहित पुगेको थियो। 

आइतबार डोजर चलेको बस्तीमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्कीसहितको टोली पनि पुगेको थियो। 

बस्तीका भौतिक संरचना भत्काउँदै त्यहाँ रहेका मानिस र सामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरेका छन्।

काठमाडौँ महानगरपालिका ९ स्थित गैरीगाउँ र वडा नं ३१ स्थित शान्तिनगरका नदी किनारका बस्ती पनि खाली गराइएको छ। बस्ती खाली गरेपछि विस्थापित भएकाहरूलाई पनि सरकारले तत्कालका लागि होटलमा खाने–बस्ने व्यवस्था गर्ने भनेको छ। 

विस्थापित हुनु परेकाहरूलाई दशरथ रंगशालामा दर्ता गर्दै व्यवस्थापनको काम पनि सँगसँगै भइरहेको छ। सोमबार दिउँसोसम्ममा यो संख्या २१४ छ। तर बेलुकासम्ममा सरकारले व्यवस्थापन गरेका मानिसहरूको संख्या बढेको छ। 

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी बसोबास गर्छन्। 

तीमध्ये काठमाडौँ महानगरभित्र २ हजार २४५ घरधुरी रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। तथ्यांक अनुसार कागेश्वरी नगरपालिकामा ९०, बुढानीलकण्ठमा १५६, ललितपुर महानगरभित्र १७ र भक्तपुर नगरपालिकामा ७७३ छन्। 

तर त्यसपछिका तीन वर्षमा यी बस्तीमा संख्या थपिएको आकलन पनि सरकारको छ।

होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य पनि आजैबाट सुरु भएको छ। यी बस्तीमा रहेका सुकुमबासीहरूले भाडा तिरेर बसेको बताएका छन्। उनीहरूलाई भाडामा लगाउने व्यक्तिहरूको पनि पहिचान गर्ने काम सरकारले गरिरहेको छ।

वास्तविक सुकुम्बासीलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित सरकारी अपार्टमेन्टमा राख्ने तयारी छ। यस्तै सरकारले उनीहरूका लागि दीर्घकालीन व्यवस्थापनको काम गर्ने प्रतिबद्धता जनाएको छ। 

सुकुम्बासी बस्तीमा वर्षौदेखि कब्जा जमाएर बसेकाहरु अधिकांश वास्तविक सुकुम्बासी नभएको तथ्यहरु फेला परेका छन् । सिमित परिवार मात्र वास्तविक सुकुम्बासी भएको र उनीहरुलाई सरकारले बसोबासको व्यवस्था गर्ने जानकारी दिइएको छ । सुकुम्बासीको नाममा सरकारी जग्गा कब्जा गरेर बसेकाहरु बिगतमा राजनीतिक दल र सत्तासँग पहुँच राखेका व्यक्तिहरु भएको प्रमाणहरु पाइएका छन् ।

यो समस्यालाई ठगी खाने भाँडो बनाउने खेल सदाको लागि बन्द गर्ने हो भने सक्कली र नक्कली सुकुम्बासीको पहिचान गरेर समाधानको कदम चाल्न जरुरी छ । परिणामा, ऐजेण्डा र कामको आधारमा बिरोध र समर्थन गर्ने संस्कारको विकास गर्न पनि त्यत्तिकै आवश्यक छ । 

 
 
सोमबार, १४ बैशाख २०८३, १० : ०५

प्रतिक्रिया