समाचार

सुकुम्बासी आन्दोलन चर्किँदै: राजमार्गमा चक्काजामदेखि आमहड्तालसम्मको चेतावनी

विहीबार, १७ बैशाख २०८३, १६ : २३

काठमाडौं- काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाउने सरकारी कदमको विरोधमा अखिल नेपाल सुकुम्बासी संघ आन्दोलनमा उत्रिएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले दुई चरणमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। संघका अध्यक्ष अमर परियारका अनुसार पहिलो चरणमा जनप्रतिनिधि तथा राजनीतिक नेतृत्वलाई ध्यानाकर्षण गराइनेछ। यसअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाका सांसदलाई समस्या र मागबारे जानकारी गराइने कार्यक्रम तय गरिएको छ।

दोस्रो चरणको आन्दोलन भने वैशाख २० गतेदेखि सुरु हुने जनाइएको छ। यस चरणमा देशभरका जिल्ला, पालिका र बस्ती स्तरमा विरोध सभा तथा भेला आयोजना गरिनेछ। साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जिल्ला कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।

संघले वैशाख ३१ गते मेची–महाकाली राजमार्गमा चक्काजाम गर्ने घोषणा गरेको छ। यद्यपि, सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्य तत्काल बन्द नगरे र विस्थापितहरूको उचित बसोबासको व्यवस्था नगरेमा जेठ ७ गतेदेखि पूर्व–पश्चिम राजमार्गमा चक्काजामसहित अनिश्चितकालीन आमहड्ताल सुरु गर्ने चेतावनी समेत दिएको छ।

sukumbasi-sangh_ydDeh3Zn7z

 
विहीबार, १७ बैशाख २०८३, १६ : २३

प्रतिक्रिया