काठमाडौं- वातावरण संरक्षण र स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यका साथ चौथो सांग्रिला साइकल यात्रा आगामी जेठ २३ गते, शनिबार आयोजना हुने भएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको आयोजनामा हुने यस साइकल यात्राले वातावरणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै साइकल संस्कृतिको विकासमा टेवा पुर्याउने लक्ष्य राखेको छ । बैंकले यसअघि पनि सफलतापूर्वक तीन संस्करण सम्पन्न गरिसकेको छ ।
यात्रा काठमाडौंको नक्सालस्थित पुलिस रिसेप्सनबाट बिहान ७ बजे सुरु हुनेछ । सहभागीहरूले दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, कलंकी, बालाजु, बनस्थली, महाराजगञ्ज, चाबहिल, गौशाला, रातोपुल हुँदै पुनः सुरुआती स्थलमा पुगेर यात्रा सम्पन्न गर्नेछन् ।
कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले बैंकले उपलब्ध गराएको अनलाइन लिंक वा क्यूआर कोडमार्फत नाम दर्ता गराउन सक्नेछन् । सहभागीमध्ये एक जनालाई आकर्षक साइकल तथा अन्य विभिन्न उपहारहरू प्रदान गरिने आयोजकले जनाएको छ ।
बैंकका अनुसार साइकल यात्राले वातावरणीय संरक्षण, स्वस्थ जीवनशैलीको प्रवद्र्धन तथा साइकलमैत्री समाज निर्माणमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभर आफ्ना शाखा तथा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
प्रतिक्रिया