काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा वा असाधारण बिदासम्बन्धी विवरण राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीलाई तत्काल अभिलेख अद्यावधिक गर्न निर्देशन दिएको छ।
मन्त्रालयले बिहीबार (जेठ २१) सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक गराउन सम्बन्धित कर्मचारीलाई आग्रह गरेको हो।
यससँगै मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण यकिन गरी अभिलेखीकरण प्रक्रिया अद्यावधिक गर्न निर्देशन दिएको छ।
सूचनामा अध्ययन वा असाधारण बिदाको अवधि सकिएपछि पनि कार्यालयमा हाजिर नभएका तथा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीको हकमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने संकेत गरिएको छ।
सरकारले निजामती सेवामा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने तथा कर्मचारीहरूको वास्तविक अवस्थासम्बन्धी अद्यावधिक विवरण सुनिश्चित गर्ने उद्देश्यले उक्त सूचना जारी गरिएको जनाएको छ।

प्रतिक्रिया