काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्याउन तथा लिन आउने सवारीसाधनको वास्तविक आवश्यकता र सहजतालाई ध्यानमा राख्दै १५ मिनेटसम्म निःशुल्क ‘पिक एण्ड ड्रप’ गर्न पाउने व्यवस्था गरेको हो ।
विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारले यात्रुहरूको आवश्यकता र गुनासोलाई मध्यनजर गर्दै ‘पिक एण्ड ड्रप’ को समयसीमा बढाइएको जानकारी दिए । यसअघि सात मिनेटसम्म मात्र ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने नियम रहेको थियो । तर उक्त समय निकै अपुग भएको भन्दै सर्वसाधारण र चालकहरूबाट गुनासो आएपछि थप सहजताका लागि समय बढाइएको उनले स्पष्ट पारे ।
"परीक्षणका रूपमा हामीले हाललाई एक महिनाका लागि १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा कुनै पनि पार्किङ शुल्क नलिने व्यवस्था लागू गरेका छौँ," प्रवक्ता कुमारले भने, "यो नयाँ व्यवस्थाविपरीत गएर कसैले सवारीसाधनसँग शुल्क उठाएको पाइएमा त्यस्ता व्यक्ति वा सेवाप्रदायकलाई कडा कानुनी कारबाही गरिनेछ ।"
कार्यालयका अनुसार यो निर्णयले विमानस्थलमा यात्रु लिन र छोड्न जाने सर्वसाधारणलाई ठूलो राहत मिल्ने र अव्यवस्थित पार्किङको समस्या समेत केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया