तुलसीपुर उपमहानगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने तयारी, अभियान सफल बनाउन आग्रह

शनिबार, २३ जेठ २०८३, ०८ : ४७

तुलसीपुर- तुलसीपुर उपमहानगरपालिकाले पालिकालाई क्षयरोगमुक्त घोषणा गर्ने तयारी थालेको छ। ‘हो, हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियानमा हाम्रो योगदान’ भन्ने नारासहित सञ्चालन गरिएको क्षयरोगमुक्त पालिका अभियानअन्तर्गत उपमहानगरपालिकाले युवा, नागरिक समाज तथा सरोकारवालालाई अभिमुखीकरण गर्दै अभियान सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा शाखा प्रमुख ओमप्रकाश न्यौपानेले क्षयरोगमुक्त पालिका अभियानअन्तर्गत गाउँ–गाउँमा सूक्ष्म निगरानीसहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। यो राष्ट्रिय गौरवको अभियान भएकाले यसको सफलताका लागि सबैको सक्रिय सहभागिता आवश्यक रहेको उनले बताए।

न्यौपानेका अनुसार विश्वभर अनुमानित १ करोड ७ लाख मानिस क्षयरोगबाट प्रभावित छन्। तीमध्ये ५८ लाख पुरुष, ३७ लाख महिला तथा १२ लाख बालबालिका र किशोर–किशोरी रहेका छन्। क्षयरोगका कारण वार्षिक रूपमा करिब १२ लाख ३० हजार मानिसको मृत्यु हुने गरेको तथ्यांक उनले प्रस्तुत गरे।

आर्थिक वर्ष २०८१/८२ को अनुमानित तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा ११ हजार ८३५, दाङ जिल्लामा १ हजार ६०६ तथा तुलसीपुर उपमहानगरपालिकामा ४४९ जना क्षयरोगी रहेका छन्। तुलसीपुरमा हालसम्म ३९९ जना नयाँ क्षयरोगी फेला परेका छन् भने मृत्यु दर २.१८ प्रतिशत रहेको छ। कुपोषण, मधुमेह, धूमपान, एचआईभी संक्रमण र मदिरा सेवन क्षयरोगका प्रमुख जोखिम कारक रहेको उनले बताए।

उनका अनुसार ‘क्षयरोगमुक्त नेपाल अभियान’ सन् २०५० सम्म क्षयरोगलाई जनस्वास्थ्यको प्रमुख समस्याको रूपमा समाप्त गर्ने राष्ट्रिय लक्ष्यका साथ सञ्चालन गरिएको हो। दिगो विकास लक्ष्य तथा विश्व स्वास्थ्य संगठनको रणनीतिअनुसार सन् २०३५ सम्म क्षयरोग महामारीको अन्त्य गर्ने उद्देश्य राखिएको छ। अनुमानित बिरामीमध्ये आधाभन्दा कम मात्रै उपचारको पहुँचमा रहेकाले लुकेका बिरामीको खोजी अभियानलाई प्राथमिकता दिइएको उनले बताए।

क्षयरोगका कारण हुने आर्थिक क्षति घटाउन, नयाँ संक्रमण रोक्न तथा स्थानीय तहलाई रोग पहिचान, निदान, उपचार र रोकथाममा थप जिम्मेवार बनाउन अभियान सञ्चालन गरिएको जनाइएको छ। नियमित रूपमा औषधि सेवन गरेमा क्षयरोग पूर्ण रूपमा निको हुने भएकाले रोग नलुकाई समयमै परीक्षण र उपचार गर्न न्यौपानेले आग्रह गरे।

कार्यक्रममा स्वास्थ्य अधिकृत शिवप्रसाद तिवारीले राष्ट्रिय क्षयरोग कार्यक्रमको विकासक्रम, रोगको परिचय, सर्ने माध्यम, प्रकार तथा नियन्त्रण र रोकथामका उपायबारे जानकारी दिएका थिए।

तथ्यांकअनुसार २०८३ जेठ १८ गतेसम्म तुलसीपुरमा खकारमा किटाणु देखिएको फोक्सोको क्षयरोगका १८४, खकारमा किटाणु नदेखिएको ६६ तथा अन्य फोक्सोसम्बन्धी क्षयरोगका १०५ गरी कुल ३५५ बिरामी रहेका छन्। तीमध्ये १५ वर्षमुनिका ३४ जना तथा १५ वर्षमाथिका ३२१ जना नयाँ तथा पुनः बल्झिएका बिरामी रहेको सूचना अधिकारी यज्ञ केसीले जानकारी गराएका छन्।

कार्यक्रममा बोल्दै नगरप्रमुख टिकाराम खड्काले क्षयरोगमुक्त नेपाल राष्ट्रिय अभियानलाई सफल बनाउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताए। सरोकारवालाको सहयोगमा तुलसीपुरलाई छिट्टै क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य रहेको उनको भनाइ थियो। जनस्वास्थ्य अधिकृत विमल केसीले अभियानको उद्देश्यबारे जानकारी गराएका थिए।

अभिमुखीकरणमा सहभागी पत्रकारहरूलाई क्षयरोगका कारण, लक्षण, सर्ने तरिका र उपचारबारे सरल तथा तथ्यपरक सामग्री प्रकाशन–प्रसारण गर्न, भ्रम र अन्धविश्वास हटाउन तथा निःशुल्क उपचार सेवाबारे जनचेतना फैलाउन आग्रह गरिएको थियो। साथै क्षयरोगीले भोग्ने सामाजिक विभेदविरुद्ध आवाज उठाउन र जोखिममा रहेका समुदायको पहिचान गरी समाचार सामग्री तयार गर्न सुझाव दिइएको थियो।

कार्यक्रममा सरोकारवालाहरूलाई क्षयरोगका सम्भावित लक्षण देखिएका व्यक्तिलाई स्वास्थ्य संस्थामा जान परामर्श दिने, उपचाररत बिरामीको नियमित औषधि सेवन सुनिश्चित गर्ने, स्क्रिनिङबाट पहिचान भएका सम्भावित बिरामीलाई परीक्षण केन्द्रमा पठाउने तथा समुदायमा जनचेतना अभिवृद्धि गर्न सहयोग गर्न आग्रह गरिएको थियो।

कार्यक्रममा सेन्टर स्कुलका प्रधानाध्यापक भागवत पौडेल, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, तुलसीपुर नगर जेसीजका अध्यक्ष कमलप्रकाश शर्मालगायतले अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
 

 
 
 
शनिबार, २३ जेठ २०८३, ०८ : ४७

प्रतिक्रिया