उपभोग्य वस्तुको प्रयोगमा सचेत रहन आग्रह, विषादी न्यूनीकरणमा जोड

आइतबार, २४ जेठ २०८३, ०८ : ०१

दाङ- कृषि उत्पादनमा रासायनिक विषादीको बढ्दो प्रयोगले मानव स्वास्थ्य, माटोको गुणस्तर तथा वातावरणमा गम्भीर असर पारिरहेको भन्दै यसको सुरक्षित तथा सन्तुलित प्रयोगमा सचेत रहन सरोकारवालाले आग्रह गरेका छन्।

तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा कृषि क्षेत्रमा बढ्दो रासायनिक विषादीको जथाभावी प्रयोग न्यूनीकरण तथा त्यसका जोखिमबारे कृषकलाई जानकारी गराउने उद्देश्यले आयोजित गोष्ठीमा सहभागीहरूले उपभोग्य वस्तुको गुणस्तर र खाद्य सुरक्षाप्रति विशेष ध्यान दिनुपर्ने बताएका हुन्।

कृषि ज्ञान केन्द्र दाङका कार्यालय प्रमुख नवराज भण्डारीले जिल्लामा प्रति हेक्टर औसत १२ केजीसम्म रासायनिक विषादी प्रयोग हुने गरेको प्रारम्भिक तथ्यांक रहेको जानकारी दिए । उनले खेतमा प्रयोग गरिएको विषादी अन्ततः खाद्य शृंखलामार्फत मानिसकै शरीरमा पुग्ने भएकाले विषादीको मात्रा, प्रयोगको समय र विधिमा विशेष सावधानी अपनाउनुपर्ने बताए ।

भण्डारीले विषादीले रोग तथा किरालाई पूर्ण रूपमा नष्ट नगरी नियन्त्रण मात्र गर्ने भएकाले यसको सुरक्षित प्रयोग आवश्यक रहेको उल्लेख गर्दै जैविक विकल्पको प्रयोग बढाउनुपर्नेमा जोड दिए। रासायनिक विषादीको अत्यधिक प्रयोगले दीर्घकालीन रूपमा क्यान्सरलगायत गम्भीर रोगको जोखिम बढाउने उनको भनाइ थियो।

कार्यक्रममा कृषक दीपा केसीले सानो परिमाणमा जैविक विषादी प्रयोग गर्न सहज भए पनि व्यावसायिक खेतीमा पर्याप्त विकल्पको अभाव रहेको बताउँदै राज्यले जैविक विषादी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताईन ।

भट्टे कृषि सहकारी संस्था तुलसीपुर–३ का अध्यक्ष कर्णबहादुर ओलीले सरकारी सहकार्य भए सहकारीमार्फत जैविक विषादी उत्पादन तथा प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राखे। एग्रोभेट व्यवसायी माधव केसीले प्रत्येक वडामा विषादीको असरबारे सचेतनामूलक सूचना बोर्ड राख्न तथा जैविक विषादी उत्पादन गर्ने उद्योग स्थापना गर्न सुझाव दिए ।

कार्यक्रमका प्रमुख अथिती तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले अत्यधिक रासायनिक विषादी प्रयोगले माटोको उर्वराशक्ति र गुणस्तरमा नकारात्मक असर परेको बताउँदै रासायनिक विषादीको प्रयोग एकैपटक हटाउन नसकिए पनि यसको प्रयोगलाई उल्लेख्य रूपमा घटाउन सकिने बताए। उनले माटो संरक्षण, जैविक खेती प्रवद्र्धन र किसानमुखी कार्यक्रमलाई आगामी बजेटमा प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुरका प्रमुख पदम बरालले  बजारमा मिसावटयुक्त तथा विषादीयुक्त उपभोग्य वस्तुको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर पार्ने भएकोले उपभोक्ता सचेत रहन आग्रह गरे उनले बजारमा सस्तो तरकारी किन्दा बिषादी कम हुन सक्ने वताए । किनकी सिजनवल तरकारीमा बिषादी कम हुने भएकोले जोखिम पनि कम हुने  उनको तर्क थियो ।  सहभागीहरुले बजारमा मिसावटयुक्त तथा विषादीयुक्त उपभोग्य वस्तुको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको भन्दै सम्बन्धित निकायले विषादी, किटनाशक तथा रासायनिक पदार्थको प्रयोगमा प्रभावकारी अनुगमन र नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

कृषि समितिका संयोजक तथा तुलसीपुर–१५ का वडाध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषक, सहकारी प्रतिनिधि, कृषि प्राविधिक, एग्रोभेट व्यवसायी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण कृषि शाखा अधिकृत शंकर न्यौपानेले गरेका थिए ।


 

आइतबार, २४ जेठ २०८३, ०८ : ०१

प्रतिक्रिया