काठमाडौं- चार अर्ब रुपैयाँभन्दा बढीको कथित घोटाला प्रकरणमा बीमा क्षेत्रका ४० भन्दा बढी उच्च पदाधिकारीविरुद्ध मुद्दा दर्ता हुने तयारी भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सम्पन्न गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएपछि अभियोजन प्रक्रिया अघि बढेको हो।
सीआईबीले हिमालयन रि–इन्स्योरेन्ससँग सम्बन्धित उक्त प्रकरणमा व्यवसायी दीपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललगायतलाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरेको छ। प्राप्त जानकारीअनुसार जिल्ला सरकारी वकिल कार्यालयले सोही प्रतिवेदनका आधारमा यसै साता जिल्ला अदालत काठमाडौंमा बीमा कसुरअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरेको छ।
अनुसन्धान प्रतिवेदनमा हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, जावलाखेल डिस्टिलरीका सञ्चालक राजबहादुर शाह, तत्कालीन सञ्चालकहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाला, मनीष कुमार तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेललाई प्रतिवादी बनाउन राय दिइएको छ। व्यवसायी ऋषिराज मोरलाई पनि प्रतिवादी कायम गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ।
यद्यपि, अनुसन्धानको क्रममा नाम जोडिएका अधिकांश व्यक्तिहरूले आफूहरूले यस विषयमा अनुसन्धानका क्रममा मात्रै जानकारी पाएको दाबी गर्दै आएका छन्।
सीआईबीले ४० जनाभन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने निष्कर्षसहित प्रतिवेदन बुझाएको र त्यसैका आधारमा सरकारी वकिल कार्यालयले अभियोजन प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ।
हिमालयन रि–इन्स्योरेन्ससहितका बीमा कम्पनीहरूमा भएको भनिएको अर्बौं रुपैयाँको अनियमितता सम्बन्धी यो प्रकरण पछिल्लो समय बीमा क्षेत्रकै चर्चित आर्थिक विवादमध्ये एक मानिएको छ। अब जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि घटनाको कानुनी परीक्षण औपचारिक रूपमा सुरु हुनेछ।
प्रतिक्रिया