विद्यालय पोशाकमा गरिएको नियन्त्रण खारेज गर्न माग गर्दै प्रदर्शन

मंगलबार, २६ जेठ २०८३, १३ : १४

काठमाडौं -  विद्यालय पोशाक खरिद प्रक्रियामा खुला बजारको व्यवस्था गर्न माग गर्दै नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ, नगर कार्यसमिति तुलसीपुरले आज विरोध प्रदर्शन गरेको छ ।

विद्यालयले गर्दै आएको पोशाक व्यापार बन्द गर, विद्यालय शिक्षाको मन्दिर हो, व्यापार गर्ने थलो होइन लगायतका नारासहित व्यवसायीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । ¥यालीमा सहभागी व्यवसायीहरुले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालय तथा क्याम्पसहरुले पोशाक खरिदमा एकाधिकार कायम गरेको आरोप लगाउँदै विद्यालय पोशाकमा गरिएको नियन्त्रण खारेज गर, खुला बजार कायम गर, जबरजस्ती खरिद बन्द गर लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघका जिल्ला कोषाध्यक्ष सुरेन्द्र परियारले शिक्षाको नाममा विभिन्न किसिमका व्यापारिक गतिविधि बढ्दै गएको बताउनुभयो । उहाँले त्यसको प्रत्यक्ष असर व्यवसायी तथा उपभोक्तामाथि परेकोले ध्यानाकर्षण गराउन विरोध कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

विद्यालयले तोकेको निश्चित पसलबाट मात्र पोशाक खरिद गर्नुपर्ने बाध्यताका कारण विद्यार्थी तथा अभिभावकहरु समेत प्रभावित भएको व्यवसायीहरुको दाबी छ । उनीहरुले आफूले चाहेको स्थानबाट वा आफ्नै पसलमा सिलाइएको पोशाक प्रयोग गर्न नपाउने अवस्था रहेको बताए । सोही विषयलाई लिएर संघका नगर अध्यक्ष गोपाल नेपालीसहितको टोलीले सोमबार तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्कालाई ज्ञापनपत्र बुझाएको छ । संघले गत वर्ष पनि यही विषयमा स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाएको भए पनि कुनै ठोस पहल नभएको जनाएको छ । विद्यालय पोशाक खरिद प्रक्रियामा पारदर्शिता, प्रतिस्पर्धा र उपभोक्ताको छनोटको अधिकार सुनिश्चित गर्न माग गर्दै संघले आफ्ना सुझावसहित पुनः स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।

मंगलबार, २६ जेठ २०८३, १३ : १४

प्रतिक्रिया