नेपालीले भारतमा क्यूआर कहिलेदेखि प्रयोग गर्न पाउलान्

मंगलबार, २६ जेठ २०८३, १४ : २६

यसै सप्ताहान्तमा दिल्लीमा भएको सम्झौताबमोजिम अब नेपाल र भारतबीच पीटुपी भनिने व्यक्ति(व्यक्तिबीच सीमावारपार भुक्तानीको सहमति कार्यान्यवनमा आएको छ।

सन् २०२३ को जुनमा नेपाल क्लेरिङ हाउस (एनसीएचएल) र न्याशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया (एनपीसीआई)बीच भएको सहमतिकै यो पछिल्लो अङ्ग हो।

उक्त सहमतिबमोजिम सन् २०२४ मार्चदेखि भारतीयहरूले नेपालमा क्यूआरमार्फत् भुक्तानी गर्ने अनुमति पाइसकेका छन् भने नेपालीहरूले भारतमा उसैगरी भुक्तानी गर्ने अनुमति अझै पाइसकेका छैनन्।

पछिल्लो सहमति के हो ?
पिअर(टु(पिअर भुक्तानी भन्नाले एक व्यक्तिले सोझै अर्को व्यक्तिको खातामा भुक्तानी गर्ने कार्य हो।

भारतसँग पहिले नै भइसकेको र अब कार्यान्वयनमा आएको भनिएको पीटुपी भुक्तानीले दुवै देशका मानिसहरूलाई एकअर्काको खातामा पैसा पठाउन मिल्ने भएको छ।

‘यसअघि ब्याङ्कमार्फत् स्विफ्ट वा आरटीजीएसजस्ता प्रणालीबाट सीमावारपार भुक्तानी गरिँदै आएकोमा अब मोबाइल ब्याङ्किङबाट पनि सहजै पैसा पाउन वा पठाउन सकिने भएको हो,’ शनिवार दिल्लीमा भएको सहमति कार्यान्वयनको घोषणाबारे एनसीएचएलका प्रमुख कार्यकारी निलेशमान सिंह प्रधानले बीबीसीलाई बताए।

‘यसबाट खातामा तत्कालै पैसा पठाउन वा प्राप्त गर्न सकिन्छ।’

यस प्रणालीलाई आवश्यक पर्ने संरचना नेपालतर्फ एनसीएचएल र भारततर्फ एनपीसीआईले व्यवस्थापन गरेका छन्। हाल नेपालका आठवटा ब्याङ्क यो प्रणालीमा आबद्ध छन् र तिनको मोबाइल ब्याङ्किङ एपमार्फत् भुक्तान गर्न सकिने बताइएको छ।

भुक्तानीको सीमा कति अनि सर्त के

भुक्तानीको सहमति कार्यान्वयन एनसीएचएल र एनपीसीआईले गर्ने भए तापनि कारोबार रकमको सीमाचाहिँ दुई देशका केन्द्रीय ब्याङ्कहरूले निर्धारण गरेका छन्।

नेपालीहरूले भारतमा पठाउने पैसाको सीमाको हकमा नेपाल राष्ट्र ब्याङ्कले एक पटकमा १५,००० भारतीय रुपैयाँ बराबरको रकम अनि मासिक भारु एक लाख सम्म मात्र पठाउन दिन्छ।

भारतको रिजर्भ ब्याङ्क अफ इन्डियाले चाहिँ एक पटकमा दुई लाख भारुको सीमा राखेको छ भने मासिक सीमा नतोकेको बताइएको छ।

‘पहिलो चरणमा परीक्षणका रूपमा हामीले यो सुविधा नेपालमा आई बसोबास गरेका वा काम गरिरहेका भारतीयहरू जसले यहाँ खाता खोलेका छन्, उनीहरूलाई भुक्तानीको सीमामा रहेर पैसा पठाउन दिने भएका हौ’ नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलले भने।

‘दोस्रो चरणमा हामीले नेपालीहरूलाई पनि यही सुविधा प्रदान गर्ने गरी छिट्टै कार्यान्वयन गर्ने छौँ।’

भारतमा क्यूआर भुक्तानी कहिले पाइएला

एनएचसीएल र एनपीसीआईबीच झन्डै तीन वर्षअघि प्रारम्भिक सम्झौता भए तापनि हालसम्म नेपालीहरूले भारतमा क्यूआरमार्फत् भुक्तानी गर्न सक्ने सुविधा पाएका छैनन्।

अहिले पीटुपी भुक्तानी सहमति कार्यान्वयन आएजस्तै क्यूआर भुक्तानीका निम्ति पीटुएम (पिअर(टु(मर्चन्ट) सहमति लागु हुनु पर्ने एनसीएचएलका प्रधानले बताए।

‘हामीले सन् २०२३ मा गरेको सम्झौतामा पीटुपी र पीटुएम गर्ने भनेका थियौँ। पीटुपी कार्यान्वयनमा आएको छ र अब बिस्तारै पीटुएम लागु गर्ने पहल हुन्छ,’ प्रधानले भने।

यसलाई नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता पौडेलले चरणबद्ध प्रक्रियाका रूपमा व्याख्या गरे।

‘वास्तवमा २०२३ को सम्झौताका तीन चरणहरू थिए। पहिलो चरणमा रेमिट्यान्सलाई सघाउने हिसाबले पीटुपी भुक्तानीको विषय थियो भने त्यसपछि पीटुएम वा क्यूआर भुक्तानीको विषय अनि राष्ट्रिय पेमन्ट स्विचमार्फत् कारोबार सेटलमन्टका विषय थिए’ उनले भने।

पीटुएम अन्तर्गत नेपालको फोनपे र भारतको यूपीआईबीच प्रणाली एकीकरण गरेर हाल भारतीयहरूले नेपालमा क्यूआर भुक्तानी गर्न सकिरहेका छन्।

नेपालीहरूको हकमा त्यसै गरी भारतमा भुक्तानी गर्न दिने विषयलाई आफूहरूले होसियारीपूर्वक हेरिरहेको र उपयुक्त समयमा यो विषय कार्यान्वयन हुने प्रवक्ता पौडेलले भने।

‘प्राविधिक रूपमा हामी तयारी अवस्थामै छौँ। अलिकति होसियारी अपनाइएकै हो। हाम्रो अर्थतन्त्रको आकार र भारतको अर्थतन्त्रको आकार हेरेर कसरी काम गर्दा ठिक हुन्छ भनेर सजगताका साथ अगाडि बढिरेहको अवस्था छ,ङ्घ उनले भने।

तर उनले अहिले नै पनि नेपाली ब्याङ्क तथा वित्तीय संस्थाहरूले जारी गरेका अधिकांश डेबिटरक्रेडिट कार्डमार्फत् भारतमा भुक्तानी गर्न पाइरहेको विषय बिर्सिनु नहुने बताए।

‘तीनवटा क्षेत्र अस्पतालरहोटेलरफार्मसूटिकल्सको हकमा त ती कार्डमार्फत् बिल बमोजिमको रकम भुक्तानी गर्न दिइएको छ,’ उनले भने।

भारतीय पक्ष के भन्छ
तथापि भारतमा क्यूआर कोडमार्फत् हुने भुक्तानीको व्यापक विस्तार भइरहेको परिप्रेक्ष्यमा उक्त प्रणालीबाटै कारोबार गर्न पाउँदा थप सहजता हुने ठानिएको छ।

‘अर्को चरणमा निकै छिट्टै नेपालीहरूलाई पीटुएम प्रणालीमार्फत् भुक्तानी कार्यान्वयन गर्ने दिशामा राष्ट्र ब्याङ्क लाग्छ,’ उनले भने।

यसबारे बीबीसीले भारतको सम्बन्धित संस्था न्याश्नल पेमन्ट कर्पोरेशन अफ इन्डिया (एनपीसीआई)लाई पनि नेपालीले भारतमा क्यूआर भुक्तानी गर्न कहिलेदेखि पाउँछन् भनेर सोधेको थियो।

एनपीसीआई इन्टरन्याश्नलले त्यसको लिखित उत्तर दिँदै भनेको छ, ‘भारतको यूनिफाइड पेमन्ट इन्टरफेस (यूपीआई) नेपालमा स्वीकार गरिएको छ जसले भारतीय यात्रुहरूलाई भुक्तानीमा सहजता प्रदान गरेको छ। त्यसै गरी नेपालबाट जारी गरिएका क्यूआर भुक्तानी भारतमा स्वीकार गर्ने कार्यमा प्रगति भइरहेको छ ।’

‘आवश्यक नियमनको परिपालन, व्यवस्थापकीय प्रारूप अनि सुरक्षित र सहज कार्यान्वयनका निम्ति आवश्यक तयारीसँग यसको (लागु हुने) मिति मिलान भइरहेको छ।’

बीबीसी न्यूज नेपाली 

मंगलबार, २६ जेठ २०८३, १४ : २६

प्रतिक्रिया