काठमाडौं- विश्वभरका लाखौं वेबसाइट सञ्चालन गर्ने खुला स्रोत (Open Source) सामग्री व्यवस्थापन प्रणाली WordPress को फोटो डाइरेक्टरीलाई समृद्ध बनाउने उद्देश्यसहित आयोजित ‘नेपाल फोटो फेस्टिभल २०२६’ आगामी जेठ ३० गते कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा समापन हुने भएको छ ।
विश्वभरका प्रयोगकर्ताले निःशुल्क प्रयोग गर्न सक्ने तस्वीरहरूको भण्डार विस्तार गर्ने लक्ष्यका साथ आयोजना गरिएको फेस्टिभलमा सहभागीहरूले WordPress Photo Directory मा अपलोड गरेका उत्कृष्ट तस्वीरहरूलाई विभिन्न विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
WordPress हाल विश्वका करिब ४० प्रतिशतभन्दा बढी वेबसाइटमा प्रयोग हुने लोकप्रिय खुला स्रोत प्लेटफर्म हो । यसअन्तर्गतको Photo Directory ले फोटोग्राफरहरूलाई आफ्ना तस्वीर विश्वव्यापी रूपमा साझा गर्ने अवसर प्रदान गर्दै आएको छ । नेपाल फोटो फेस्टिभल २०२६ ले यही अभियानलाई नेपालका प्राकृतिक, सांस्कृतिक र सामाजिक विविधतासँग जोड्ने प्रयास गरेको छ ।
फेस्टिभलअन्तर्गत विश्वका विभिन्न देश तथा नेपालका विभिन्न स्थानबाट खिचिएका तस्वीरहरू WordPress Photo Directory मा अपलोड भएका छन् । तीमध्ये उत्कृष्ट तस्वीर छनोट गरी नगद पुरस्कार प्रदान गरिनेछ ।
सबै विधाबाट छनोट हुने सर्वोत्कृष्ट तीन तस्वीर लाई जनही १११ अमेरिकी डलर प्रदान गरिनेछ । यस्तै WordPress Photo Directory मा उच्च गुणस्तरका तथा विविध तस्वीरहरू योगदान गर्ने उत्कृष्ट तीन योगदानकर्ता लाई जनही ७७ अमेरिकी डलर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी विभिन्न विधामा उत्कृष्ट ठहरिएका तस्वीरलाई ५० अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ । यसअन्तर्गत उत्कृष्ट वनस्पति (Flora), सम्पदा (Heritage), संस्कृति (Cultural), खाद्य (Food Photography), सडक जीवन (Street Photography), वन्यजन्तु (Wildlife) तथा पहिलो पटक योगदान गर्ने फोटोग्राफर (First–Time Contributor) का तर्फबाट उत्कृष्ट तस्वीरलाई सम्मान गरिनेछ ।
आयोजकका अनुसार यी पुरस्कारहरूले फोटोग्राफरहरूलाई खुला स्रोत फोटो अभियानमा सहभागी हुन प्रेरित गर्नुका साथै नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, जैविक विविधता र जनजीवनलाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
पोखरा र घान्द्रुक केन्द्रित फेस्टिभलमा फोटोग्राफी, खुला स्रोत प्रविधि, पर्यटन प्रवद्र्धन तथा डिजिटल सिर्जनशीलतासम्बन्धी विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् । समापन समारोहमा उत्कृष्ट तस्वीर सार्वजनिक गरिनुका साथै विजेताहरूलाई पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ ।
आयोजकले पुरस्कार रकमको मुद्रा रूपान्तरण गर्दा गोलाकार (Rounded Figure) दर प्रयोग गरिने भएकाले वास्तविक विनिमय दरसँग केही फरक पर्न सक्ने जनाएको छ ।
खुला स्रोत प्रविधि, सिर्जनात्मक अभिव्यक्ति र नेपालको दृश्य पहिचानलाई विश्व समुदायसँग जोड्ने लक्ष्य बोकेको ‘नेपाल फोटो फेस्टिभल २०२६’ ले नेपाली फोटोग्राफी क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा थप स्थापित गर्ने विश्वास गरिएको छ।
प्रतिक्रिया