संयुक्त राज्य अमेरिकाले इरानले आफ्नो हेलिकप्टर खसालिएको बदलामा सुरु गरिएको इरानमाथिका शृङ्खलाबद्ध आक्रमण सम्पन्न भएको बताएको छ।
अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणाली, नियन्त्रण कक्षहरू र राडार क्षेत्रलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको छ।
इरानी सरकारी सञ्चार माध्यमहरूका अनुसार पर्सिअन गल्फ क्षेत्रमा विस्फोटनका आवाज सुनिएका थिए।
‘यो मिशन इरानको अनुचित आक्रमणविरुद्धको प्रतिक्रिया मात्रै हो,ू अमेरिकी सेन्ट्रल कमान्ड ’सेन्टकमुले आफ्नो विज्ञप्तिमा भनेको छ।
इरानी रेभलूशनरी गार्ड कोरले अमेरिकी आक्रमणको बदलामा बाहरेनमा अमेरिकी जलसेना रहेको स्थानमा ड्रोनमार्फत् प्रत्याक्रमण गरिएको बताएको छ।
सोमवार इरानले होर्मुज जलमार्ग नजिकै आफ्नो हेलिकप्टर खसालिदिएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका थिए।
अपाचे हेलिकप्टरका दुई जना चालक दलका सदस्यहरूलाई अमेरिकी सामुद्रिक ड्रोनबाट उद्धार गरिएको सेन्टकमले जनाएको छ। यस्तो प्रकारको उपकरण प्रयोग गरिएको अमेरिकी सेनाले पहिलो पटक सार्वजनिक रूपमा पुष्टि गरेको हो।
अमेरिकी अधिकारीहरूका अनुसार इरानले ड्रोनमार्फत् उक्त हेलिकप्टरमा आक्रमण गरेको थियो। तर इरानी पक्षले नियोजित रूपमा अमेरिकी हेलिकप्टरमा आक्रमण गरे वा नगरेको प्रस्ट नभएको बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजसँग कुरा गरेका एक जना अमेरिकी अधिकारीले बताएका छन्।
इरानको अर्ध सरकारी समाचार संस्था मेहर न्यूज एजेन्सीले अमेरिकी हेलिकप्टर खसालिएको घटनामा इरानले आफ्नो संलग्नता दाबी गरेको छैन।
एबीसी न्यूजसँगको टेलिफोन अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्लो अमेरिकी आक्रमणमा इरानकै दोष रहेको बताएका छन्।
‘उनीहरूले हाम्रो हेलिकप्टरमाथि जे गरे यो त्यसको जबाफ हो। हाम्रो जबाफ निकै बलियो, शक्तिशाली हुनुपर्छ भन्ने मेरो विश्वास छ र भएको पनि छ,’उनले भने।
इरानले भने झुटो बहानामा अमेरिकाले आक्रमण गरेको आरोप लगाएको छ।
इरानी विदेशमन्त्री अब्बास अराग्चीले सुरक्षित रहनका लागि उक्त क्षेत्रबाट बाहिरिन अमेरिकी सेनालाई चेतावनी दिएका छन्।
उनले आफ्नो देशले कुनै पनि आक्रमणको जबाफ दिन नछोड्ने बताए।
‘युद्धमैदानमा पराजय बेहोरे पनि अमेरिका हाम्रो दृढताको परीक्षण गर्न खोजिरहेको छ,’ उनले एक्समा लेखेका छन्।
उनले इरानी भूभाग नजिक रहेका विदेशी सेनाहरू आफ्नै मानवीय त्रुटि र दुर्घटना तथा क्रसफायरुमा पर्ने जोखिममा रहने बताएका थिए।
‘जोखिम कम गर्ने सबैभन्दा राम्रो उपाय उनीहरू (विदेशी सेना) त्यहाँबाट बाहिरिनु हो,’ उनले एक्समा लेखेका छन्।
बीबीसी न्यूज नेपाली
प्रतिक्रिया