काठमाडौं- प्रिमियर इन्टरनेसनल IB Continuum School यस वर्षको ज्ञान मेला केवल एउटा प्रदर्शनी मात्र थिएन, एउटा महत्वपूर्ण प्रश्नको खोज थियो – “हामीले जानेका कुरा वास्तवमा कसरी जान्यौं?” यही जिज्ञासाले विद्यालय परिसरलाई विद्यार्थी नेतृत्वमा सञ्चालित एक जीवन्त बौद्धिक मञ्चमा रूपान्तरण गर्याे ।
यस वर्षको ज्ञान मेलाको विषयवस्तु नेपालको सांस्कृतिक विविधता र समृद्ध पहिचान थियो । विद्यार्थीहरू परम्परागत नेपाली पोशाकमा सहभागी भए भने विद्यालय परिसरलाई रतो मच्छिन्द्रनाथको रथ र बौद्धनाथ स्तूपबाट प्रेरित कलात्मक सजावटले सजाइएको थियो। स्थानीय संस्कृति र दार्शनिक चिन्तनको सुन्दर संगमले कार्यक्रमलाई अझ विशेष बनाएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण DP१ का विद्यार्थीहरूले सञ्चालन गरेका १५ वटा अन्तरक्रियात्मक प्रदर्शनी स्टलहरू थिए । ती स्टलहरूमा प्राचीन हस्तलिपिदेखि छेत्री पुतली, DNA का तस्बिरदेखि ढुंगेधारासम्मका विविध वस्तुहरूलाई ज्ञानको दृष्टिकोणबाट प्रस्तुत गरिएको थियो । विद्यार्थीहरूले सांस्कृतिक सम्पदा र स्थानीय ज्ञानलाई अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्दै “हामी के जान्दछौं ?” भन्दा पनि “हामीले त्यो ज्ञान कसरी प्राप्त गर्याैं ?” भन्ने प्रश्नमाथि गहिरो छलफल गरे ।
कार्यक्रमका प्रमुख अतिथि द्युतीमान चौधरीले ज्ञान मेलाको उद्घाटन गर्दै विभिन्न विद्यार्थी स्टलहरूको अवलोकन गरेका छन् । उनले विद्यार्थीहरूले शैक्षिक अवधारणालाई वास्तविक जीवनसँग जोडेर प्रस्तुत गरेको शैलीको प्रशंसा गरे ।
Theory of Knowledge -TOK_ International Baccalaureate -IB_ Diploma Programme को महत्वपूर्ण पाठ्यक्रम हो, जसले विद्यार्थीलाई आफूले सिकिरहेको ज्ञानको प्रकृति, स्रोत र विश्वसनीयताबारे गहिरो रूपमा सोच्न प्रेरित गर्छ । TOK प्रदर्शनी यस पाठ्यक्रमको प्रमुख मूल्याङ्कन प्रक्रिया हो, जहाँ विद्यार्थीहरूले वास्तविक जीवनसँग सम्बन्धित वस्तु छनोट गरी त्यसलाई ज्ञानसँग जोडेर आफ्ना तर्क प्रस्तुत गर्छन् ।
प्रिमियरमा आयोजित ज्ञान मेलाले यस प्रक्रियालाई कक्षा कोठाभन्दा बाहिर ल्याउँदै व्यवहारिक र जीवन्त बनाएको छ । यहाँ ढाकाको कपडा केवल कपडा मात्र रहँदैन, त्यो ज्ञानको एउटा दाबी बन्छ; र विद्यार्थी केवल उत्तर दिने व्यक्ति होइन, आफ्नो सोच र बुझाइको आधार प्रस्तुत गर्ने अनुसन्धानकर्ता बन्छ ।
ज्ञान मेला २०२६ ले फेरि एकपटक प्रमाणित गरेको छ कि जब विद्यार्थीलाई प्रश्न सोध्ने, खोज गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने अवसर दिइन्छ, तब सिकाइ असाधारण बन्छ ।
प्रतिक्रिया