मनिष मिश्रद्वारा ‘शहीद सन्तति वृत्ति कोष’मा थप ५० हजार सहयोग घोषणा

विहीबार, २८ जेठ २०८३, १५ : १०

काठमाडौं- नेपाली कांग्रेसका नेता मनिष कुमार मिश्रले शहीद परिवारका सन्ततिका लागि स्थापना गर्न लागिएको ‘लोकतान्त्रिक शहीद सन्तति वृत्ति कोष’मा थप सहयोग गर्ने घोषणा गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर उनले कोषमा थप ५० हजार रुपैयाँ जम्मा गर्ने जानकारी दिएका हुन् ।

मिश्रले यसअघि वि.सं. २०८२ जेठ २८ गते आफ्नो जन्मदिनका दिन उक्त कोष स्थापना गर्ने घोषणा गर्दै प्रारम्भिक रूपमा ५१ हजार रुपैयाँ राख्ने बताएका थिए । सोही प्रतिबद्धतालाई निरन्तरता दिँदै यस वर्ष थप रकम जोडिएपछि कोषको कुल रकम १ लाख १ हजार रुपैयाँ पुगेको उनले जनाएका छन् ।

उनका अनुसार शहीदको सम्मान तथा उनीहरूको परिवारलाई सहयोग गर्ने उद्देश्यले कोष स्थापना गर्ने अवधारणा अघि बढाइएको हो । विगतमा राजनीतिक परिस्थिति अनुकूल नहुँदा योजना कार्यान्वयनमा ढिलाइ भए पनि अब यसलाई मूर्त रूप दिने तयारी भइरहेको उनले उल्लेख गरेका छन् ।

मधेश क्षेत्रका विभिन्न स्थानमा भ्रमणका क्रममा शहीद परिवारको अवस्था नजिकबाट देखेपछि उनीहरूको सहयोगका लागि केही गर्नुपर्ने महसुस भएको मिश्रले बताएका छन् । सोही अनुभूतिका आधारमा कोष स्थापना गर्ने निर्णय गरिएको उनले स्पष्ट पारे ।

मिश्रले छिट्टै कानूनी प्रक्रिया पूरा गरी कोष सञ्चालनका लागि सञ्चालक समिति गठन गर्ने योजना रहेको पनि बताएका छन् । उक्त समिति शहीदप्रति सम्मानभाव राख्ने व्यक्तिहरूबाट गठन गरिने र कोष व्यक्तिगत नभई सामूहिक रूपमा सञ्चालन गरिने उनको भनाइ छ ।

यस कोषमा इच्छुक सबै व्यक्तिले योगदान गर्न सक्ने व्यवस्था गरिने र यसको कार्यक्षेत्र मेचीदेखि महाकालीसम्म विस्तार गर्ने लक्ष्य राखिएको उनले जानकारी दिएका छन् ।

अन्त्यमा उनले आफ्नो यस पहललाई सामाजिक कार्यको सानो प्रयासका रूपमा उल्लेख गर्दै विभिन्न क्षेत्रका व्यक्तित्वबाट सुझाव, सल्लाह तथा सहयोगको अपेक्षा गरेको बताएका छन् ।
 

विहीबार, २८ जेठ २०८३, १५ : १०

प्रतिक्रिया