गेटा आँखा अस्पतालद्वारा एकपक्षीय प्रचारप्रति ध्यानाकर्षण, सेवामा अवरोध नगर्न आग्रह

विहीबार, २८ जेठ २०८३, १७ : १५


काठमाडौं- गेटा आँखा अस्पतालले पछिल्लो समय स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अस्पतालका विषयमा एकपक्षीय सूचना सम्प्रेषण भइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अस्पतालले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत अस्पतालमा भएका घटनाको वास्तविकता सार्वजनिक गर्दै अस्पतालका कर्मचारी, सेवाग्राही, स्थानीय समुदाय, सहयोगी संस्था, दातृ निकाय तथा सञ्चारकर्मीलाई जानकारी गराएको हो ।

विज्ञप्तिअनुसार सन् १९८१ मा स्थापना भएको गेटा आँखा अस्पताल नेपाल नेत्रज्योति संघको मातहतमा सञ्चालन हुँदै आएको छ । अस्पतालले हाल सुदूरपश्चिम प्रदेशमा तीन वटा सेकेण्डरी आँखा अस्पताल र २६ वटा आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको जनाएको छ । प्रदेशका नौवटै जिल्लामा आँखा उपचार सेवा विस्तार गरिसकेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार आँखा परीक्षण गराउन आउने बिरामीमध्ये करिब ३५ प्रतिशत तथा शल्यक्रिया गराउने बिरामीमध्ये करिब ५५ प्रतिशत भारतीय नागरिक रहेका छन् । आर्थिक वर्ष २०८१÷८२ मा अस्पताल र मातहतका संस्थाबाट दुई लाख ७९ हजार ८३३ जनालाई आँखा उपचार सेवा प्रदान गरिएको र २२ हजार १५२ जनाको शल्यक्रिया गरिएको उल्लेख गरिएको छ ।

स्थापनाकालदेखि २०८२ फागुनसम्म अस्पताल तथा मातहतका केन्द्रहरूले ५५ लाख ८७ हजारभन्दा बढी बिरामीलाई सेवा प्रदान गरेको र सात लाख ३४ हजारभन्दा बढीको मोतियाबिन्दु लगायत आँखासम्बन्धी शल्यक्रिया गरिएको अस्पतालको दाबी छ ।

WhatsApp Image 2026-06-11 at 16.54.20

अस्पतालले हाल करिब एक दर्जन नेत्र विशेषज्ञसहित १८० जना कर्मचारी कार्यरत रहेको तथा आँखा उपचारसँग सम्बन्धित अधिकांश उपविशेषज्ञ सेवा उपलब्ध रहेको जनाएको छ । अस्पतालमा डिप्लोमा इन अफ्थाल्मिक साइन्समा ७९ जना र स्नातकोत्तर तहमा तीन जना चिकित्सक अध्ययनरत रहेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, आर्थिक वर्ष २०८२÷८३ मा सरकारले उपलब्ध गराएको मासिक तीन हजार रुपैयाँ महँगी भत्ता उपलब्ध नगराइएको विषयलाई लिएर केही कर्मचारीले गत जेठ ४ गते पूर्वसूचना र स्वीकृतिबिना अस्पतालका सेवा अवरुद्ध पारेको अस्पताल प्रशासनको आरोप छ । सो क्रममा अस्पताल प्रमुख र वरिष्ठ प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको तथा वरिष्ठ अधिकारीमाथि अमर्यादित व्यवहार भएको दाबी गरिएको छ ।

नेपाल नेत्रज्योति संघको केन्द्रीय कार्यालयबाट माग सम्बोधन भएको जानकारीपछि जेठ ७ गते तालाबन्दी खोलिएको र सेवा पुनः सञ्चालनमा आएको अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासनका अनुसार तालाबन्दीका क्रममा कर्मचारी आचारसंहिताविपरीत गतिविधि भएको ठहर गर्दै स्पष्टीकरण मागिएको थियो । त्यसपछि केही कर्मचारी र आफूलाई स्थानीय बताउने समूहले अस्पताल प्रशासनमाथि दबाब सिर्जना गरेको, घेराउ तथा अभद्र व्यवहार गरेको आरोप पनि विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालले कर्मचारीले माग गरेको महँगी भत्ता यही महिनाको पारिश्रमिकसँगै उपलब्ध गराउने निर्णय भइसकेको जनाएको छ । साथै संगठन तथा व्यवस्थापनसम्बन्धी बाँकी विषय व्यवस्थापन समितिले रायसहित केन्द्रमा पठाउने र स्वीकृत दरबन्दीअनुसार पदपूर्ति तथा बढुवा प्रक्रिया अघि बढाइने जानकारी दिएको छ ।

अस्पतालले आफ्नो सम्पूर्ण सेवा नियमित र अवरोधरहित रूपमा सञ्चालन भइरहेको स्पष्ट पार्दै संस्थामा कुनै अनियमितता नभएको तथा सबै प्रशासनिक कार्य नेपाल नेत्रज्योति संघको प्रशासकीय कार्यसञ्चालन नियमावली–२०८० अनुसार निष्पक्ष र पारदर्शी ढंगले भइरहेको दाबी गरेको छ ।
 

विहीबार, २८ जेठ २०८३, १७ : १५

प्रतिक्रिया