काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रको विकासमा ऐतिहासिक भूमिका निर्वाह गर्ने अवसर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई प्राप्त भएको बताएका छन्।
इप्पानको २६औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनलाई सम्बोधन गर्दै कार्कीले ऊर्जा क्षेत्रको वर्तमान उपलब्धिलाई थप उचाइमा पुर्याउने जिम्मेवारी अहिलेको नेतृत्वमाथि रहेको बताए।
उनले २०४९ सालमा सरकारले तय गरेको ऊर्जा विकासको लक्ष्य र निजी क्षेत्रको सहभागिताले मुलुकलाई लोडसेडिङमुक्त बनाउँदै ऊर्जा व्यापारको चरणमा पुर्याएको उल्लेख गरे। निजी क्षेत्रको प्रवेश नभएको भए देशले अझै पनि लामो समयसम्म विद्युत् अभावको समस्या झेल्नुपर्ने अवस्था रहने उनको भनाइ थियो।
कार्कीले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका अधिकांश माग समेटिएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गरे।
‘हामीले विगत २३ वर्षदेखि निरन्तर उठाउँदै आएका विषयहरू नीति तथा कार्यक्रम र बजेटमा समेटिएका छन्। त्यसैले अब ती विषय कार्यान्वयनमा जाने अपेक्षा गरेका छौँ,’ उनले भने। उनले ‘टेक अर पे’ आधारमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने, १८० दिनभित्र पीपीए प्रक्रिया टुंग्याउनेलगायतका प्रतिबद्धता कार्यान्वयन हुने विश्वास व्यक्त गरे।
कार्कीले यसअघि पनि बजेटमा धेरै सकारात्मक व्यवस्था आए पनि कार्यान्वयन पक्ष कमजोर रहेको उल्लेख गर्दै यसपटक भने सरकारप्रति बढी आशावादी रहेको बताए।
उनले निर्माण सम्पन्न मिति (आरसीओडी) को म्याद थप्न सरकारलाई आग्रह गर्दै यस विषयमा लामो समयदेखि उठाइएका माग सम्बोधन हुन नसकेको बताए। साथै, नेपाल धितोपत्र बोर्ड (सेबोन)मा लामो समयदेखि रोकिएका आईपीओ स्वीकृतिको प्रक्रिया अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए।
‘दुई–तीन वर्षअघि आवेदन दिएका परियोजनाहरूको आईपीओ स्वीकृति कहिले हुन्छ भन्ने अझै अन्योल छ। सम्बन्धित मन्त्रालय र निकायमा पटक–पटक पहल गर्दा पनि समस्या समाधान हुन सकेको छैन,’ उनले भने, ‘सरकारले अब यस विषयमा ठोस निर्णय गरेर लगानीकर्ताको विश्वास बढाउने अपेक्षा गरेका छौँ।’
प्रतिक्रिया