काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले सुशासन र परिवर्तनप्रतिको जनअपेक्षा उच्च रहेकाले त्यसलाई सम्बोधन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को २६औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्र अहिले रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गरे।
उनले विद्युत् उत्पादनसँगै विद्युत् व्यापार र प्रसारण पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता विस्तार गर्न सरकारले आवश्यक नीतिगत व्यवस्था गरिसकेको जानकारी दिए। साथै, इप्पानको नयाँ नेतृत्वले निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा मात्र सीमित नराखी व्यापार र प्रसारण क्षेत्रमा समेत थप सशक्त बनाउने विश्वास व्यक्त गरे।
‘सुशासन र परिवर्तनप्रति जनअपेक्षा उच्च छ। त्यसलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘अब आउने इप्पान नेतृत्वले विद्युत् उत्पादनसँगै व्यापार र प्रसारण क्षेत्रमा पनि निजी क्षेत्रलाई अग्रणी भूमिकामा पुर्याउने विश्वास लिएको छु।’
मन्त्री श्रेष्ठले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, गतिशील र नागरिकमैत्री बनाउन सरकारले अघि सारेको १०० बुँदे कार्यसूचीले सरकारका प्राथमिकता स्पष्ट गरेको बताए। त्यसको प्रभावकारी कार्यान्वयनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप ३२ बुँदे निर्देशनसहित आफ्नो कार्यमार्ग तय गरेको उनले जानकारी दिए।
उनका अनुसार ऊर्जा क्षेत्रको दीर्घकालीन विकास, लगानी विस्तार र निजी क्षेत्रको सहभागिता अभिवृद्धि सरकारको प्रमुख प्राथमिकतामध्ये एक हो।
प्रतिक्रिया