एभरेष्ट कलरको आईपीओ बाँडफाँड, ६५ हजार ५७० जनाको हातमा सेयर

विहीबार, ०४ असार २०८३, ११ : २२

काठमाडौं- एभरेष्ट कलर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बिहीबार आईपीओ बाँडफाँड गरिएको हो।

कम्पनीले जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्कासन गरेको थियो। उक्त सेयरको कुल मूल्य ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबर रहेको छ।

आईपीओमा २६ लाख ८७ हजार ४२१ जना आवेदकबाट २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो। प्राप्त आवेदनमध्ये २६ लाख ४१ हजार ९५९ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन विभिन्न कारणले रद्द भएका छन्।

निष्कासित सेयरको तुलनामा माग अत्यधिक भएपछि गोलाप्रथा (लक्की ड्र) मार्फत सेयर बाँडफाँड गरिएको हो। बाँडफाँडअनुसार ६५ हजार ५७० जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

उच्च आवेदनका कारण अधिकांश आवेदक भने यसपटक सेयर प्राप्त गर्नबाट वञ्चित भएका छन्। कम्पनीको आईपीओमा माग निष्कासित सेयरभन्दा करिब ४४ गुणा बढी परेको देखिएको छ।

विहीबार, ०४ असार २०८३, ११ : २२

प्रतिक्रिया