चलचित्र ‘रोल नं १’को टिकटमा ५० प्रतिशत छुट

विहीबार, ०४ असार २०८३, १५ : ३१

काठमाडौं- चलचित्र ‘रोल नं १’ अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन् । निर्माणपक्षले आफ्नो सिनेमा ‘रोल नं १’को टिकट ५० प्रतिशत मूल्य छुट गरेर बिक्री गर्ने निर्णय गरेको छ ।

यो निर्णयसँगै अब ‘रोल नं १’ टिकटको मूल्यमा हरेक दर्शकले ५० प्रतिशत छुट पाउनेछन् । जस्तै चार सय रुपैयाँ पर्ने टिकट अब २०० रुपैयाँमा अथवा ३०० रुपैयाँमा टिकट मूल्य रहेका हलमा १५० मा यो सिनेमाको टिकट पाइनेछ ।

विद्यार्थी र अभिभावकले चलचित्रको टिकटको मूल्य घटाउन गरेको आग्रह अनुसार हरेक हलका हरेक शोमा टिकट मूल्यमा ५० प्रतिशत छुट दिइएको निर्माता विनोद पौडेलले बताएका छन् ।

‘स्कुल, अभिभावक र विद्यार्थीहरूको विशेष अनुरोधलाइ अब सेभेन सिज सिनेमाले चलचित्र रोल नं. १ को टिकटमा ५० प्रतिशत छुट प्रदान गरेको छ,’ निर्माता पौडेलले भने, ‘नेपालभरका सहभागी सिनेमाघरहरूमा ५० प्रतिशत छुट लागु भइसकेको छ ।’

शिक्षा प्रणाली, विद्यार्थीको मानसिक दबाब, अभिभावकको संघर्ष र जीवनका यथार्थ कथा चलचित्र ‘रोल नं. १’ले उठाएको निर्माता पौडेलले बताएका छन् ।

विहीबार, ०४ असार २०८३, १५ : ३१

प्रतिक्रिया