चार नेपालीमध्ये एकको डिम्याट खाता

सेयर बजारमा जनलहर : डिम्याट खाता ७९ लाख नाघ्यो, ६८ लाखभन्दा बढीले प्रयोग गर्छन् मेरो सेयर

आइतबार, ०७ असार २०८३, १४ : ००

काठमाडौं- नेपालको धितोपत्र बजारमा व्यक्तिगत लगानीकर्ताको सहभागिता उल्लेखनीय रूपमा बढिरहेको देखिएको छ। पछिल्ला वर्षहरूमा डिम्याट (हितग्राही) खाता र मेरो सेयर खाता खोल्नेको संख्या निरन्तर वृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ।

उपलब्ध तथ्याङ्कअनुसार २०७७ असार मसान्तसम्म करिब १७ लाख रहेको डिम्याट खाताको संख्या २०७७/७८ को अन्त्यमा ३७ लाख ३६ हजार ९२६ पुगेको थियो। त्यसपछि २०७८/७९ मा ५१ लाख ५० हजार, २०७९/८० मा ५६ लाख ६५ हजार र २०८०/८१ मा ६२ लाख ७२ हजार ३५१ पुगेको थियो।

आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म डिम्याट खाताको संख्या ६९ लाख ९७ हजार ९०० पुगेको थियो। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म भने यो संख्या बढेर ७९ लाख ३८ हजार ३६५ पुगेको छ, जुन नेपालको कुल जनसंख्याको २६ प्रतिशतभन्दा बढी हो।

प्रदेशगत रूपमा सबैभन्दा धेरै डिम्याट खाता बागमती प्रदेशमा रहेको छ। कुल खातामध्ये ३३.८५ प्रतिशत बागमतीमा रहेका छन्। त्यसपछि कोशीमा १८.९४ प्रतिशत, मधेशमा १२.८१ प्रतिशत, गण्डकीमा १२.३४ प्रतिशत, लुम्बिनीमा १२.२० प्रतिशत, सुदूरपश्चिममा ६.७४ प्रतिशत र कर्णालीमा ३.०४ प्रतिशत डिम्याट खाता रहेका छन्।

लैंगिक आधारमा हेर्दा डिम्याट खाता भएका लगानीकर्तामध्ये ५७.२१ प्रतिशत पुरुष र ४२.६७ प्रतिशत महिला रहेका छन्। उमेर समूहका आधारमा १९ देखि ३० वर्ष उमेरका लगानीकर्ताको हिस्सा सबैभन्दा बढी ३०.१२ प्रतिशत रहेको छ।

त्यसैगरी ४१ देखि ६० वर्ष उमेर समूहका २५.८७ प्रतिशत, ३१ देखि ४० वर्ष समूहका २३.२४ प्रतिशत, १८ वर्षमुनिका १२.३१ प्रतिशत, ६१ देखि ७० वर्ष समूहका ५.३८ प्रतिशत तथा ७१ वर्षभन्दा माथिका ३.०४ प्रतिशत लगानीकर्ताको डिम्याट खाता रहेको तथ्याङ्कमा उल्लेख छ।

यस्तै, मेरो सेयर खाताको संख्या पनि तीव्र गतिमा बढेको छ। २०७७ असारमा करिब ७ लाख रहेको मेरो सेयर प्रयोगकर्ताको संख्या २०७८ असारमा २८ लाख ५१ हजार ८०३ पुगेको थियो। त्यसपछि २०७८/७९ मा ४३ लाख ६८ हजार ६३९, २०७९/८० मा ४७ लाख ४१ हजार ५५ र २०८०/८१ मा ५३ लाख २२ हजार ९६९ पुगेको थियो।

आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म मेरो सेयर खाताको संख्या ५९ लाख ७३ हजार पुगेको थियो भने चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म बढेर ६८ लाख ६७ हजार पुगेको छ। यो संख्या नेपालको कुल जनसंख्याको करिब २३ प्रतिशत बराबर रहेको छ।

धितोपत्र बजारमा डिजिटल पहुँच विस्तार, प्राथमिक सेयर (आईपीओ) प्रतिको आकर्षण तथा अनलाइन कारोबार प्रणालीको सहजताले लगानीकर्ताको सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेलेको विश्लेषण गरिएको छ।

आइतबार, ०७ असार २०८३, १४ : ००

प्रतिक्रिया