काठमाडौं- रातोघर फाउन्डेसन विगत २० वर्षदेखि साहित्य, कला र सांस्कृतिक क्षेत्रमा सक्रिय संस्था हो । रातोघरले साहित्य, कला र संस्कृतिका विविध गतिविधिका माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नेपाल र नेपालीको परिचय स्थापित गर्ने प्रयास गरिरहेको छ ।
यतिखेर स्वनिगःका शहरहरूमा सम्पदा संरक्षण र आधुनिक विकास बहसको विषय भइरहेका छन् । यसका लागि स्थानीय सरकारहरूले गरिरहेका योगदान उल्लेखनीय छन् ।
तसर्थ, स्वनिगःभित्रका पालिकाहरूको अनुभव र ज्ञान, साहित्यिक स्रष्टा, सांस्कृतिक अभियानकर्ता, कलाकारलगायत आमनागरिकबीच संवादको माध्यमबाट सम्प्रेषित हुनु जरुरी छ ।
यही आवश्यकता मनन गर्दै शब्द, सम्पदा र शहरका लागि समर्पित कार्यक्रम रातोघर साहित्य उत्सव–२०८३ को आयोजना गरिँदै छ । उक्त उत्सवमा धिमे, बाँसुरी, टुङ्गना, डम्फु आदि बाजासहित स्वागद गर्दै २२ जना युवा तथा विशिष्ट कविहरूका शहर, सम्पदा र संस्कृतिसम्बद्ध कविता प्रस्तुति, १५ जना विविध मातृभाषी कविहरूको कविता प्रस्तुति, रमेशकाजी स्थापितलाई ‘रातोघर च्वसाः सम्मान’, डा. शङ्करमान राईलाई ‘रातोघर उत्कृष्ट सेवा सम्मान’, पुस्तक विमोचन, मल्ल के. सुन्दरको अध्यक्षतामा प्रा.डा. सुदर्शनराज तिवारीसँगको ‘यो शहर कस्तो ?’ विषयको बहस, गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाको अध्यक्षतामा ‘स्वनिगः याम्बु र सम्पदाको शहर’ विषयमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीबीचको बहसलगायतका विशेष सत्रहरूको व्यवस्था गरिएको छ ।
वासुदेव अधिकारीले सम्मानित व्यक्तित्वहरूको परिचय दिने कार्यक्रममा विश्व सिग्देल, दीपक समीर, स्नेह साय्मि र रजनी मिलाले विभिन्न सत्रको सहजीकरण गर्दै छन् । २०८३ असार १२ गते बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म हुने उक्त कार्यक्रम नेपाल भाषा मंका खलःको सभाकक्ष, बिजेश्वरी, काठमाडौँमा सम्पन्न हुन गइरहेको छ ।
प्रतिक्रिया