काठमाडौं- सन सेक्युरिटिज प्रा. लि. (ब्रोकर नं. ६४) ले Institute for Integrated Development Studies (IIDS) का नेपाली तथा विदेशी प्रशिक्षार्थीलाई लक्षित गरी नेपाली पुँजीबजार सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
सन सेक्युरिटिजको ट्रेडिङ हल, नारायणचौर, नक्साल, काठमाडौंमा बिहान १०:०० बजेदेखि १२:३० बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा करिब ३५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालीसँगै विभिन्न देशका विदेशी प्रशिक्षार्थीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा श्री कृष्ण गिरी (कार्यकारी अध्यक्ष, सन सेक्युरिटिज प्रा. लि.), श्री अस्तित्व शर्मा (प्रमुख कार्यकारी अधिकृत, Subiz Group) तथा श्री बिबेक अधिकारी (ट्रेडिङ अफिसर, सन सेक्युरिटिज प्रा. लि.) ले सहजीकरण गर्नुभएको थियो।
प्रशिक्षणका क्रममा नेपाली पुँजीबजारको समग्र परिचय, नेपाल स्टक एक्सचेञ्ज (NEPSE) को कार्यप्रणाली, ATrade (नयाँ TMS प्रणाली) को प्रयोग, मेरोशेयर तथा डिम्याट खाताको उपयोग, लगानीका आधारभूत सिद्धान्त, लगानीपूर्व ध्यान दिनुपर्ने पक्षहरू, जोखिम तथा प्रतिफलको सम्बन्ध, दीर्घकालीन सम्पत्ति निर्माणमा पुँजीबजारको भूमिका लगायतका विषयमा विस्तृत प्रस्तुति दिइएको थियो।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले अत्यन्त उत्साहका साथ सक्रिय सहभागिता जनाउँदै विभिन्न जिज्ञासा राखेका थिए। विशेषगरी विदेशी प्रशिक्षार्थीहरूले नेपालको पुँजीबजारको संरचना, लगानी प्रक्रिया तथा प्रविधिमैत्री प्रणालीप्रति गहिरो चासो व्यक्त गर्दै अन्तरक्रियामा सक्रिय सहभागिता जनाएको देखियो।
सन सेक्युरिटिज प्रा. लि. ले यस्ता शैक्षिक तथा सचेतनामूलक कार्यक्रममार्फत विद्यार्थी, युवा तथा सर्वसाधारणमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै जिम्मेवार लगानी संस्कृतिको विकासमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया