काठमाडौं- नेपाल डेरी एसोसिएसनले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको स्वागत गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ।
एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालद्वारा जारी विज्ञप्तिमा मौद्रिक नीतिले कृषि, पशुपालन, डेरी तथा कृषि आधारित उद्योगलाई प्राथमिकता दिँदै उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह, सहुलियतपूर्ण वित्तीय पहुँच, साना तथा मझौला उद्यमलाई कर्जा विस्तार, कृषि मूल्य शृङ्खला, खाद्य प्रशोधन, चिस्यान केन्द्र (कोल्ड स्टोर), भण्डारण पूर्वाधार तथा आयात प्रतिस्थापनमुखी उद्योगलाई प्रोत्साहन गर्ने व्यवस्था समेटिएकोप्रति स्वागत गरिएको छ।
एसोसिएसनले डेरी क्षेत्र कृषि अर्थतन्त्र, खाद्य सुरक्षा, ग्रामीण रोजगारी तथा लाखौँ किसान परिवारको आयआर्जनसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै उत्पादनशील क्षेत्रमा कर्जा विस्तार, डेरी उद्योगमा लगानी प्रोत्साहन, पुनर्तालिकीकरण तथा पुनःसमायोजनको व्यवस्था, डिजिटल वित्तीय पहुँच विस्तार र हरित लगानीलाई प्राथमिकता दिनुलाई सकारात्मक कदमको रूपमा व्याख्या गरेको छ।
यद्यपि, नीतिमा समेटिएका व्यवस्था व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा एसोसिएसनले जोड दिएको छ। हाल डेरी उद्योगले कच्चा दूध उत्पादनमा कमी, उत्पादन लागत वृद्धि, बजार संकुचन, कार्यशील पुँजीको अभाव तथा बैंकिङ कर्जाको बढ्दो भारजस्ता चुनौती सामना गरिरहेको भन्दै डेरी उद्योगलाई उत्पादनशील तथा अत्यावश्यक उद्योगका रूपमा विशेष प्राथमिकतामा राख्न आग्रह गरिएको छ।
एसोसिएसनले डेरी उद्योगका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा, कार्यशील पुँजीको सहज उपलब्धता, पुनर्कर्जा तथा कर्जा पुनर्संरचनासम्बन्धी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंक र सरकारसँग माग गरेको छ।
विज्ञप्तिमा नेपाल डेरी एसोसिएसनले सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै स्वदेशी दुग्ध उद्योगको संरक्षण र प्रवर्द्धन, किसानको आय वृद्धि, रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
प्रतिक्रिया