काठमाडौं- काठमाडौंस्थित वीर अस्पतालमा उपचाररत मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शुक्रबार उपचारकै क्रममा निधन भएको छ। उनी राहदानी विभाग अगाडि आगलागीको घटनामा गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार नेपालीको वीर अस्पतालमा सघन उपचारका क्रममा मृत्यु भएको हो। घटनापछि उनको स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएको थियो।
यसअघि वीर अस्पतालले पत्रकार सम्मेलन गर्दै नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको जनाएको थियो। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो भने अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुगेकाले उपचार निकै चुनौतीपूर्ण बनेको थियो।
उनलाई अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उपचारका लागि प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेषज्ञ चिकित्सक टोली परिचालन गरिएको थियो। टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मी सहभागी थिए।
चिकित्सकहरूले थप विशेषज्ञ उपचारका लागि उनलाई भारतको नयाँ दिल्ली लैजाने तयारीसमेत गरेका थिए। तर स्वास्थ्य अवस्था स्थिर हुन नसकेकाले स्थानान्तरण सम्भव नभएको अस्पतालले जनाएको थियो। चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उनको ज्यान जोगाउन नसकिएको हो।
नेपाली बिहीबार काठमाडौंस्थित राहदानी विभाग अगाडि आगलागीको घटनामा गम्भीर घाइते भएका थिए। घटनालगत्तै प्रहरीले उनको उद्धार गरी वीर अस्पताल पुर्याएको थियो। घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया