टिप्पणी

किन जल्न बाध्य हुन्छन् गणेश नेपालीहरु ?

शुक्रबार, २६ असार २०८३, १४ : १९

काठमाडौं - मोटरसाइकलका विषयमा नगर प्रहरीसँग विवादपछि बिहीबार दिउँसो काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै जिउमा पेट्रोल छर्केर आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा आज बिहान वीर अस्पतालमा मृत्यु भएको छ । यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण भएको छ ।

एउटा युवाले मेहनत गरेर पनि बाँच्न मर्न बाध्य हुने परिस्थिति किन सिर्जना भयो ? राज्यका संयन्त्रहरु किन यति निर्दयी र जनबिरोधी भए ? युवा रोजगारी र आमूल परिवर्तनको शंखघोष गरेर सत्तामा आएको सरकारले किन कठिन अर्थ राजनीतिक संकटलाई हल गर्न सकरिहेको छैन ? यी प्रश्नहरुले हाम्रो समाजको गहीरो आर्थिक राजनीतिक संकटलाई उधिनेका छन् । 
  यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो।

यस कठिन घडीमा गणेश नेपनलीका आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ, कसरी उनीहरूको दुःखमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबैले सोच्न जरुरी छ । यो घटनाको गहीरो अनुसन्धान गर्दै भविष्यमा यस्ता घटना हुन नदिन सरकारले गम्भीर पहलकदमी लिन पनि आवश्यक छ । विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाउन जरुरी भएकोले हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्ने भएको छ । 

आज राज्यले गम्भीरतापूर्वक सोच्न जरुरी छ , एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन् ? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ ? यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ।

यो घघनाा नै पहिलो होइन । झापाका युवक प्रेम आचार्यले संसद भवन अगाडि पनि यसअघि आत्मदाह गरेर प्राण त्याग गरेका थिए । राज्यबाट एउटा नागरिकले आफू कतै आशावादी महशुस नगर्दाको यो परिणाम हो । राज्यको आँखा कान खोल्न एउटा युवकले आफैलाई मार्नुपर्ने जस्तो संवेदनशील अवस्थाको अन्त्य कहिले हुन्छ ? सरकार नागरिककका लागि हो कि नागकिरबाट लिने मात्र (कर) मात्र हो ? यसको उचित जवाफ सरकारले दिनै पर्दछ । गणेश नेपालीको जलेको शरीर समग्र राज्यको शासनशैलीको प्रतिवम्ब हो । पुरानो सरकारको आलोचना गरेर सिंहदरबारको कुर्सीमा आसिनहरुलाई पोल्दैन उनको भयानक मृत्युले ? 

दूरदराजबाट जीवन जीउन सजिलो होला भनेर राजधानी छिरेका थिए गणेश । बाँच्ने आशामा शहर छिरेका निर्दोश र एक मेहनती युवालाई यो शहरले पनि बाँच्न दिएन । त्यसमा राज्य पनि कारक बन्यो । नागरिकलाई ज्यूँदै मर्ने अवस्थामा पुर्याउने सरकारले के नैतिकताले शासन गर्ने हो ? 

शुक्रबार, २६ असार २०८३, १४ : १९

प्रतिक्रिया