गणेश नेपालीको परिवारलाई अमेरिकाबाट तिमिल्सेना दम्पतीको १ लाख १ हजार सहयोग

आइतबार, २८ असार २०८३, १० : ३९

काठमाडौं– मुगुका गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको निधनले सिंगो मुलुक नै शोकाकुल भइरहेका बेला अमेरिकामा रहेका एक प्रवासी दम्पतीले मृतकको परिवारलाई आर्थिक सहयोग गरेका छन् ।  अमेरिकाको विस्कन्सिनमा बसोबास गर्दै आएका समाजसेवी लेखनाथ तिमिल्सेना र उनकी पत्नी रेश्मा तिमिल्सेनाले शोकाकुल परिवारलाई रु. १ लाख १ हजार आर्थिक सहयोग प्रदान गरेका हुन्।

अहिलेसम्म मृतकको परिवारलाई सबैभन्दा धेरै आर्थिक सहयोग गरेका तिमिल्सेना दम्पतीले स्वर्गीय गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनीहरूले परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउँदै दुःखको यस घडीमा आफूहरू परिवारसँगै रहेको सन्देश दिएका छन्।

प्रवासमा रहेर पनि विभिन्न मानवीय तथा परोपकारी अभियानमा सक्रिय रहँदै आएका तिमिल्सेना दम्पतीको यो सहयोगलाई शोकमा परेका परिवारप्रति प्रवासी नेपालीहरूले देखाएको मानवीय संवेदना र ऐक्यबद्धताको उदाहरणका रूपमा हेरिएको छ।

मानवीय संकटका बेला प्रवासमा रहेका नेपालीहरूले गर्दै आएको सहयोगले आपसी सद्भाव, सामाजिक एकता र सहयोगको संस्कारलाई थप बलियो बनाउँदै आएको विश्वास गरिएको छ। तिमिल्सेना दम्पतीको यो पहलले संकटका समयमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहकार्यको महत्त्वलाई पुनः उजागर गरेको छ। 

आइतबार, २८ असार २०८३, १० : ३९

प्रतिक्रिया