काठमाडौं- काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ स्थित कुशादेवी माध्यमिक विद्यालयमा पूर्व शिक्षक तथा पूर्व विद्यार्थीहरूको भेला सम्पन्न भएको छ।
असार २७ गते आयोजित भेला विद्यालयका पूर्व प्रधानाध्यापक रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। भेलाले राजकुमार हुमागाईँको अध्यक्षतामा १७ सदस्यीय कुशादेवी मावि एल्मुनाई एसोसिएसन सर्वसम्मत रूपमा गठन गरेको छ।
नवनिर्वाचित समितिले विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक विकासमा सहयोग पुर्याउने, विद्यार्थीमा शैक्षिक अनुशासन अभिवृद्धि गर्ने तथा आर्थिक रूपमा विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यका साथ काम गर्ने जनाएको छ।
भेलामा सहभागी पूर्व शिक्षक तथा पूर्व विद्यार्थीहरूले विद्यालयको समग्र विकासका लागि एल्मुनाईको भूमिका महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्दै विद्यालयसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।

भेलाले उपाध्यक्षमा रामसुन्दर सापकोटा, सचिवमा सुदिप सापकोटा चयन गरेको छ भने सहसचिवमा भवानी आचार्य हुमागाईँ, कोषाध्यक्षमा दीपक लामिछाने रहेका छन् ।
त्यस्तै सदस्यहरूमा हस्त बहादुर तामाङ, कुमार थापा, टंक प्रसाद हुमागाईँ, सुभद्रा अधिकारी, गुणनाथ सापकोटा, जयराम थापा, पूर्ण बहादुर श्रेष्ठ, सनोज घिमिरे, प्रकाश बन्जारा, दीपेश गेलाल र महेश्वर थापा चयन भएका छन् भने एक महिला सदस्य कार्यसमितिले चयन गर्ने जनाएको छ ।
नवगठित एसोसिएसनले आगामी दिनमा विद्यालयको पूर्वाधार विकास, शैक्षिक गुणस्तर अभिवृद्धि, प्रतिभावान् तथा विपन्न विद्यार्थीलाई सहयोग र पूर्व विद्यार्थीबिच आपसी सम्बन्ध सुदृढ गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ।
प्रतिक्रिया