काठमाडौं- लगातारको वर्षा र विभिन्न स्थानमा गएको पहिरोका कारण जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख सडकमार्गमा सवारी आवागमन रोकिएको छ। यात्रुको सुरक्षालाई ध्यानमा राख्दै उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधन बसपार्कसहित विभिन्न स्थानमै होल्ड गरिएको प्रहरीले जनाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार नागढुंगा, साँगा तथा फर्पिङ हुँदै सञ्चालन हुने सबै लामो दूरीका सवारी साधनलाई अर्को सूचना नभएसम्मका लागि यात्रा गर्न रोक लगाइएको छ। हिजो रातिदेखि नै रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको थियो भने आइतबार बिहान पनि कुनै पनि गाडी गन्तव्यतर्फ पठाइएको छैन।
नागढुंगा–मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको केराबारी र तुइनखोलामा पहिरो खसेपछि उक्त मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसैगरी बीपी राजमार्गको रोशी खोलामा पानीको बहाव बढ्नुका साथै मंगलटार क्षेत्रमा लेदोसहितको पहिरो खसेकाले सो मार्ग हुँदै यात्रा गर्न पनि रोक लगाइएको छ।
यस्तै, फर्पिङ–फाखेल–सिन्नेरी हुँदै हेटौंडा जोड्ने सडक पनि पहिरोको जोखिमका कारण बन्द गरिएको छ। कान्ति लोकपथअन्तर्गत पाङ्दुरे र टाकुन्जे क्षेत्रमा पहिरो खसेपछि उक्त सडकमार्ग पनि अवरुद्ध बनेको छ।
ट्राफिक प्रहरीले मौसम र सडकको अवस्थाको निरन्तर अनुगमन भइरहेको जनाएको छ। जोखिमको मूल्यांकनपछि मात्रै सवारी सञ्चालन गर्ने वा नगर्ने निर्णय गरिने भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न र यात्रा अघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिन यात्रु तथा चालकलाई आग्रह गरिएको छ।
प्रतिक्रिया