फाइल फोटो
काठमाडौं- अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख सडक तथा राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार देशभर १३ स्थानमा सडक यातायात प्रभावित भएको छ। तीमध्ये पाँच सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने छ स्थानमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। दुई सडकखण्डमा भने सम्भावित जोखिमका कारण सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।
कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलाम नगरपालिका–४ राजदुवालीदेखि तालचुङसम्म पर्ने मेची राजमार्ग अविरल वर्षाका कारण पूर्ण रूपमा बन्द भएको छ। उदयपुरको कटारी नगरपालिका–११ हर्देनीस्थित सिद्धिचरण लोकमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको भकुण्डे–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण सवारी सञ्चालन रोकिएको छ। मकवानपुरको हेटौँडा–भिमफेदी–बागमती–ललितपुर सडकखण्डमा पनि बाढी र पहिरोको जोखिमका कारण यातायात बन्द गरिएको छ। यस्तै भिमफेदी गाउँपालिका–८ पर्खालडाँडास्थित कान्तिलोकपथ पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ भने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण बन्द भएको छ।
गण्डकी प्रदेशमा कास्कीको अन्नपूर्ण गाउँपालिका–८ सार्दीखोला क्षेत्रमा पर्ने नयाँपुल–घान्द्रुक सडकखण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। बागलुङको काठेखोला गाउँपालिका–६ इजारापानीस्थित मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ।
लुम्बिनी प्रदेशमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ डुडेखोलास्थित सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ। गुल्मीको कालिगण्डकी गाउँपालिका–२ रानीबास तथा वडा नम्बर ४ पर्तिघाटस्थित कालिगण्डकी करिडोरमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
कर्णाली प्रदेशअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका मालुवा क्षेत्रमा पर्ने जाजरकोट–डोल्पा सडकखण्डमा पनि पहिरोका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
नेपाल प्रहरीले प्रभावित सडकखण्डमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन, मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न चालक र यात्रुलाई आग्रह गरेको छ। साथै अवरुद्ध सडक खुलाउने काम सम्बन्धित निकायले तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ।
प्रतिक्रिया